काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा गगन थापाविरुद्ध किशोरसिंह राठौरले उम्मेदवारी दिने बताएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका गगनविरुद्ध देउवा समूह छाडेर आएको राठौरले सभापतिमा उम्मेदवारी दिने बताएका हुन्।
‘म सभापतिमा उम्मेदवारी दिन्छु। क्षेत्रीय अधिवेशन सकेपछि उम्मेदवारी घोषणा गर्छु,’ नेता राठौरले भने। राठौर १४औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका नेता हुन्।
देउवा समूह मंसिरमा समानान्तर महाधिवेशनको तयारी गर्दैगर्दा राठौर भने गगनलाई सभापति स्वीकारेर संस्थापन पक्षतिरै खुलेका छन्। सदस्यता अध्यावधिक नगर्ने देउवा समूहको अडानमा असन्तुष्टि जनाउँदै सदस्यता अद्यावधिक गरेर गगनतिर लागेका थिए।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने १५औं महाधिवेशनमा गगनको विकल्प नभएको बताएका छन्। ‘आउँदो निर्वाचनमा पनि फेरि कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको क्याण्डिडेट गगन थापा हो। १५औं महाधिवेशन जुट्दै गर्दा गगन थापालाई सभापति बनाएर उच्च मनोबलका साथ अघि बढ्नुपर्छ,’ शर्माले भने।
महामन्त्रीमा उदयशमशेर र नैनसिंह महरलाई अघि बढाउने गगनको तयारी
असोज १६ गते (अपडेट: १८ गतेका लागि सारिएको) काठमाडौंका खुल्लामञ्चमा उद्घाटन गर्ने तयारी गरेको महाधिवेशनमा महामन्त्रीको आकांक्षीको ओइरो लागेको छ। दुई महामन्त्रीका लागि हुने निर्वाचनमा आठ जनाले चाहना देखाइसकेका छन्।
केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल भने उपसभापति बन्ने तयारी छन्। दुई उपसभापति निर्वाचित हुने कांग्रेसमा एक उपसभापति विश्वप्रकाश शर्मा हुने निश्चित भएको बताइएको छ।
महर कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफ्नो कार्यकाल र पार्टीले दुई पटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि हटाइएका थिए। त्यसपछि १४औं महाधिवशेनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लागेका थिए। फागुन २१ को निर्वाचनमा महर देउवाको गृह जिल्ला डडेलधुराबाट चुनाव लडेका थिए।
केही समय अगाडिसम्म पनि कांग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँडेका उनी पछिल्लो समय विशेष महाधिवेशनको केन्द्रीय समितिमा पुगेर महामन्त्री बन्ने योजनामा छन्। सभापति गगनसँग महामन्त्री बनाउने वचनसहित संस्थापनमा समाहित भएको एक केन्द्रीय सदस्यले बताए। ‘महरलाई गगनको प्यानलमा महामन्त्री बनाउने सहमति छ, यही सहमतिअनुसार तेस्रो धार निर्माण छाड्नुभएको हो,’ ती केन्द्रीय सदस्यले भने।
यता उदयशमशेरलाई पनि गगनले महामन्त्री बनाउने वचन दिएका छन्। विशेष महाधिवेशन गर्न सघाएका शमशेरलाई महामन्त्री दिने तयारी रहेको बताइएको छ। यही तयारीस्वरुप उदयलाई ठूला दलका प्रमुखहरुलाई निम्तो दिने जिम्मेवारीसमेत दिइएको छ। हप्ता दिनअघि उदयले झम्सिखेलमा आफ्नो निवास नजिकैको एक पार्टी प्यालेसमा सञ्चारकर्मीसँग गोप्य छलफल गरी सुझाव सल्लाहसमेत लिएका थिए। तरुण दलका पूर्वअध्यक्ष रहेका सहमहामन्त्री राणाले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थिए। उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्। ललितपुर क्षेत्र नं. १ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राणा अर्थराज्यमन्त्री पनि बनिसकेका छन्। राणा आफैंले भने पार्टीको आवश्यकताअनुसार निर्णय लिने बताएका छन्।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल भने उपसभापति बन्ने तयारी छन्। दुई उपसभापति निर्वाचित हुने कांग्रेसमा एक उपसभापति विश्वप्रकाश शर्मा हुने निश्चित भएको बताइएको छ। शर्मा हाल पनि उपसभापति छन्। पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्री वा उपसभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। डा. शेखर कोइरालानिकट मानिने चालिसे पछिल्लो समय गगन–विश्वको समूहबाट कर्नरमा परेका छन्।
राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले पनि महामन्त्रीमा दाबी राखेका छन्। नेविसंघका पूर्वअध्यक्ष संविधानसभा सदस्य भएका कर्ण गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भएका थिए। पेसाले इञ्जिनियर कर्ण नेविसंघमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने नेतामा पर्छन्।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष बनाउने विधानमा उल्लेख छ। विशेष महाधिवेशनपछि बनेको विधानमा तीन सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था राखिएको छ।