काठमाडौं- पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी)लाई ‘हाइब्रिड मोडल’ मा सञ्चालन गर्ने गरी पाठ्यक्रम परिमार्जनको काम अघि बढेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने उक्त तालिमलाई समयानुकूल बनाउँदै अनलाइन र भौतिक दुवै माध्यमबाट सञ्चालन गर्ने तयारी गरिएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।
बोर्डले पिडिओटीका साथै प्रशिक्षकको प्रशिक्षण (टिओटी) र तालिम सञ्चालनका लागि आवश्यक म्यानुअलसमेत पुनः तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। पाठ्यक्रम परिमार्जनका लागि दुर्गादत्त पनेरु प्रमुख विज्ञ रहने र अन्य चार जना विषयविज्ञ रहनेगरी पाँच सदस्यीय टोली गठन गरिएको बोर्डकी निर्देशक कविता फुयाँलले बताइन्।
निर्देशक फुयाँलका अनुसार उक्त टोलीले चालु आर्थिक वर्ष २०८३/८४ भित्र पिडिओटी, टिओटी र तालिम म्यानुअल तयार गर्नुपर्ने छ। नयाँ पाठ्यक्रममा के–के विषय समावेश गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफलसमेत सुरु भइसकेको छ। विज्ञ टोलीले सोमबार पहिलोपटक सरोकारवालासँग अनलाइन र भौतिक दुवै माध्यमबाट छलफल गरेको जनाइएको छ।
तालिमलाई तत्कालै पूर्णरुपमा अनलाइनमा लैजाने अवस्था नरहेको भन्दै बोर्डले हाइब्रिड मोडल अपनाउने तयारी गरेको छ। निवर्तमान युवा, श्रम तथा रोजगारमन्त्री दिपककुमार साहले शासकीय सुधारका १०० बुँदे कार्यसूचीअन्तर्गत १०० दिनभित्र पिडिओटीलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान निर्देशन दिए पनि त्यसबेला बोर्डमा पर्याप्त बजेट नभएर काम अघि बढेको थिएन। साथै, तालिमलाई अहिले नै पूर्णरुपमा डिजिटल बनाउँदा सबै श्रमिकका लागि प्रभावकारी नहुने भन्दै विरोधसमेत भएको थियो।
अहिले नै पूर्ण डिजिटल बनाउन आवश्यक पूर्वाधार र त्यो अनुसारको जनशक्ति पनि तयार छैन। त्यसैले तत्कालका लागि दुवै मोडल आवश्यक छ। दीर्घकालमा भने पूर्ण अनलाइनमा जाने योजना हो।
कविता फुयाँल
निर्देशक, वैदेशिक रोजगार बोर्ड
अहिले भौतिक कक्षामा उपस्थित हुन नसक्ने श्रमिकले अनलाइनबाटै तालिम लिन सक्ने र अनलाइन माध्यम प्रयोग गर्न समस्या हुनेहरु भौतिक कक्षामा उपस्थित हुनेगरी पाठ्यक्रम बनाउन लागिएको जनाइएको छ। ‘अहिले नै पूर्ण डिजिटल बनाउन आवश्यक पूर्वाधार र त्यो अनुसारको जनशक्ति पनि तयार छैन,’ फुयाँलले भनिन्, ‘त्यसैले तत्कालका लागि दुवै मोडल आवश्यक छ। दीर्घकालमा भने पूर्ण अनलाइनमा जाने योजना हो।’
अभिमुखीकरणले रोजगारीमा जाने श्रमिकलाई गन्तव्य मुलुकमा गएर गर्नुपर्ने काम, त्यहाँको नियम, कानुन, परिवेश, संस्कृतिलगायतका जानकारी दिन्छ। पछिल्लो समय वैदेशिक रोजगारीको स्वरुप र श्रम गन्तव्यहरु परिवर्तन भइरहेका बेला वर्षौं अघि बनेको पाठ्यक्रमले श्रमिकलाई आवश्यक जानकारी दिन नसकेको बताइन्छ। प्रभावकारी अभिमुखीकरण नपाउँदा रोजगारीमा गएका श्रमिकहरु विभिन्न समस्यामा पर्दै आएका छन्। यसलाई मध्यनजर गर्दै बोर्डले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो।
हालको बदलिँदो श्रमबजार, गन्तव्य मुलुकका कानुन, डिजिटल ठगी, प्रविधिको प्रयोग, मानसिक स्वास्थ्यजस्ता विषय पाठ्यक्रममा थप गरिने जनाइएको छ। ‘वैदेशिक रोजगारीको टे«ण्ड, गन्तव्य मुलुकको कानुनहरु परिवर्तन भइरहन्छन्। त्यसैले पाठ्यक्रम परिमार्जन भइरहनुपर्छ,’ निर्देशक फुयाँलले भनिन्, ‘नयाँ पाठ्यक्रममा सूचना प्रविधिको विषय, डिजिटल ठगी, क्राइम, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षाका नयाँ स्किमहरु, हाम्रै कल्याणकारी कोषले दिने सेवा सुविधालगायत समावेश गरेर दोहोरिएको कुरा एकीकृत गर्ने भन्ने छ।’
अभिमुखीकरणको पाठ्यक्रम र टिओटी परिमार्जनका लागि बोर्ड तालिम प्रदायक संस्थाहरुले विगतमा प्रगोग गरेको लिखित दस्ताबेज, अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको छ।