काठमाडौं- निक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, डिल्लीबजार काठमाडौंको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष युवराज अधिकारीको सभापतित्वमा आइतबार डिल्लीबजारमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरिएको थियो। लेखा सुपरिवेक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात तथा नाफा–नोक्सान हिसाब पनि सभाले अनुमोदन गरेको छ।
त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, आगामी बजेटलगायतका विषयमा छलफल गरी साधारण सभाले अनुमोदन गरेको संस्थाले जनाएको छ।
संस्थाले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार २०८३ असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड २७ लाख २९ हजार रुपैयाँ पुगेको छ। बचत तथा निक्षेप दायित्वतर्फ ७ करोड ५२ लाख ९७ हजार ३६१ रुपैयाँ रहेको छ भने ऋण लगानी ६ करोड ३८ लाख ५० हजार ८५७ रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा ९६ लाख ४१ हजार ८६ रुपैयाँ रहेको छ। २०८३ असार मसान्तसम्म संस्थाले १० करोड ३० लाख ३ हजार ८४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको जनाएको छ।
साधारण सभामा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै आएको बाढीबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी गराइएको थियो। साथै, डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम विद्यालयलाई छात्रवृत्तिस्वरूप २० हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ।
यस वर्ष संस्थाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ।साधारण सभामा प्राध्यापक तथा चिकित्सक, विभिन्न शिक्षण संस्थामा आबद्ध गुरुवर्ग, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संस्थामा आबद्ध सदस्यहरूको उपस्थिति रहेको थियो।विभिन्न विविध कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ।