काठमाडौं- सिन्धु काठमाडौँ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चाबहिल काठमाडौँको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धुम्बाराहीमा हालै सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष रविन्द्र प्रसाद धितालले गरेका थिए। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष धितालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आगामी बजेटलगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरेको छ।
सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ५७ लाख ४३ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, ऋण तथा सापटी ११ करोड ५५ लाख १५ हजार ४ सय ५७ रुपैयाँ रहेको छ भने बचत तथा निक्षेप दायित्व १९ करोड २२ लाख ८१ हजार ७ सय १८ रुपैयाँ पुगेको छ।
संस्थाको जगेडा कोषमा ५७ लाख ९९ हजार ५ सय ९६ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८३ असार मसान्तसम्म संस्थाको कुल कारोबार २२ करोड ९२ लाख ३ हजार ९ सय ५४ रुपैयाँ पुगेको जनाइएको छ। यस वर्ष संस्थाको शेयर पुँजीमा ३ दशमलव ७० प्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ।
साधारण सभाको अवसरमा एसईई तथा एमफिलमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी संस्थाका ज्येष्ठ सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
सभामा सहकारीकर्मी, सहकारी अभियन्ता, समाजसेवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा संस्थामा आबद्ध शेयर सदस्यलगायतको सहभागिता रहेको थियो। विविध कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ।