काठमाडौं- बृहत दरबार स्क्वायर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धर्मपथ काठमाडौंको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार क्षेत्रपाटीमा संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।सभाले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा विभिन्न आर्थिक विवरणसमेत अनुमोदन गरेको छ। साथै लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत विभिन्न प्रस्तावहरू साधारण सभाबाट पारित भएका छन्।
संस्थाले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सहकारीको सेयर पुँजी २ करोड ४० लाख ७१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, बचत तथा निक्षेपतर्फ १५ करोड १० लाख ५५ हजार ३७० रुपैयाँ रहेको छ भने ऋण तथा सापट रकम १९ करोड २० लाख ६७ हजार ८५४ रुपैयाँ पुगेको छ।
यसैगरी, संस्थाको जगेडा कोषमा २ करोड ९६ लाख २० हजार ४७३ रुपैयाँ रहेको छ। सो अवधिसम्म सहकारीले २२ करोड ३ लाख ४३ हजार ५९६ रुपैयाँ बराबरको कुल कारोबार गरेको जनाएको छ।
साधारण सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विविध कार्यक्रमसहित सम्पन्न सभाले संस्थाको आगामी आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावहरूसमेत अनुमोदन गरेको जनाएको छ।