काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको धनगढीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलाइसिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मिर्गौलारोगी बिरामीहरूलाई प्रदान गरिने डायलाइसिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। अस्पतालको डायलाइसिस युनिटले हाल २१ वटा डायलाइसिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ।
अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो। सोहीअनुसार डायलाइसिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको बैंकले जनाएको छ।
अस्पतालमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुखकार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोगस्वरुप अस्पतालको डायलाइसिस एकाइका लागि आरओ प्रणाली हस्तान्तरण गरेका थिए। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौलारोगीहरूको सेवामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।