काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा एक लाख ३० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा एक लाख ३० हजार ४८३ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा गएका हुन्। यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो।
विभागका अनुसार गत साउन महिनाको तुलनामा भदौमा रोजगारीमा जानेको संख्यामा भने केही कमी आएको छ। साउनमा ७० हजार ४४१ जना रोजगारीमा जाँदा भदौमा ६० हजार ४२ जना मात्र गएका छन्। नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मलेसियामा सीमित व्यवसायीलाई मात्र श्रमिक पठाउन दिने गरी ल्याउन खोजिएको व्यवस्था र साउदीमा अदक्ष श्रमिकका लागि अनिवार्य गरिएको सीप प्रमाणीकरणका कारण विदेसिनेको संख्यामा कमी आएको अनुमान गरिएको छ। भदौमा विदेसिनेमा ५१ हजार ८४३ पुरुष र आठ हजार १९९ जना महिला छन्।
भदौ महिनामा ३५ हजार ६२७ जना युवा पहिलोपटक रोजगारीमा गएका छन्। जसमा २९ हजार ९८४ जना पुरुष र पाँच हजार ६४३ जना महिला छन्। त्यस्तै, म्यानपावर कम्पनीमार्फत २५ हजार ४१५ जना गएको तथ्यांक छ। यसरी गएकाहरुमा २२ हजार २२८ जना पुरुष र तीन हजार १८७ जना महिला छन्।
विदेसिनेमध्ये नौ हजार २२४ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएको विभागले जनाएको छ। व्यक्तिगतरुपमा जानेहरुमा छ हजार ९०६ जना पुरुष र दुई हजार ३१८ जना महिला छन्। गत भदौमा ८६६ जना जिटुजीमार्फत इजरायल र दक्षिण कोरिया गएका छन्। ७८९ जना कोरिया जाँदा ७७ जना इजरायल गएका छन्। साथै, वैधानिकिकरण श्रम स्वीकृति लिएर ९२ जना गएको तथ्यांक छ।
गएको महिना श्रमिकहरु रोजगारीको खोजीमा ९८ वटा मुलुक पुगेका छन्। जसमध्ये पहिलो रोजाइको गन्तव्य बनेको संयुक्त अरब इमिरेट्स (युएई)मा १८ हजार ४७७ जना गएका छन्।
गएको महिना श्रमिकहरु रोजगारीको खोजीमा ९८ वटा मुलुक पुगेका छन्। जसमध्ये पहिलो रोजाइको गन्तव्य बनेको संयुक्त अरब इमिरेट्स (युएई)मा १८ हजार ४७७ जना गएका छन्। युएईपछि कतारमा १० हजार ४७१, मलेसियामा आठ हजार ९१, साउदी अरबमा छ हजार ७८७ र कुवेतमा तीन हजार ८९८ जना गएका छन्।
सबैभन्दा धेरै महिला श्रमिक भने युएईमा दुई हजार ९३५, कुवेतमा एक हजार १९५, कतारमा ९६२, साइप्रसमा ५९३ र जापानमा ४३३ जना गएका छन्। गत महिना १४ वटा मुलुकमा एक जना पुरुष र नौ वटा मुलुकमा एक जनामात्र महिला श्रमिक गएका छन्।
जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा बढी युवा धनुषाबाट परदेसिएका छन्। भदौमा तीन हजार १६ जनाले रोजगारीको खोजीमा उक्त जिल्ला छाडेका छन्। त्यस्तै, झापाबाट दुई हजार ७१६, मोरङबाट दुई हजार ६९०, सिरहाबाट दुई हजार ३४९ र महोत्तरीबाट दुई हजार २८१ जना गएका छन्। सबैभन्दा कम भने मनाङबाट १३ जना जाँदा मुस्ताङबाट २३ जना गएका छन्।
गएको महिना ३४ हजार १६७ जना श्रमिक सीपयुक्त भएर रोजगारीमा जाँदा १६ हजार ५८ जना कुनै सीपविना गएको पाइएको छ। त्यस्तै, नौ हजार ४६६ जना अर्धदक्ष श्रमिक गएका छन्। सो अवधिमा ८० जना उच्च दक्ष र २७१ जना व्यावसायिक श्रमिक रोजगारीका लागि गएको विभागको तथ्यांक छ।