काठमाडौं- ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित ‘तपाईंको बजार’ले सवारी साझेदारी सेवाका लागि ‘भेट्रा एरोन’ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक गरेको छ। ‘तपाईंको बजार’ र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार सवारी साझेदारी सेवामा आबद्ध चालकलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। योजनाअन्तर्गत चालकले बिना अग्रिम भुक्तानी विद्युतीय स्कुटर लिन सक्नेछन्। दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ। हाल बजारमा सवारी साझेदारी सेवाका लागि विभिन्न कम्पनीले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा मोटरसाइकल तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन्। सोही हाराहारीको रकममा चालकलाई आफ्नै स्कुटरको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको ‘तपाईंको बजार’ले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित थिए। कार्यक्रममा बोल्दै घिसिङले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता पहलले योगदान पुर्याउने बताए। ‘तपाईंको बजार’की प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन्। विभिन्न बाधा तथा अवरोधका कारण योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले जानकारी दिइन्।


लामाका अनुसार सवारी साझेदारी सेवामा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय सवारी सेवा प्रणाली विकास गर्ने कम्पनीको योजना छ। नेपालभर आधिकारिक विक्रेता नियुक्तिका लागि आवेदनसमेत खुला गरिएको उनले बताइन्। कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण रूपमा चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ। नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटरको जमिनबाट उचाइ, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ।
विशेषगरी सवारी साझेदारी तथा यात्रु बोलाउने सेवाका लागि स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ। भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली-ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए।चालकलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले पानीपोखरीस्थित ‘तपाईंको बजार’को कार्यालयमार्फत शून्य अग्रिम भुक्तानीमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उक्त वित्तीय सुविधाका लागि ‘तपाईंको बजार’ र बेस्ट फाइनान्सबीच सहकार्य भएको हो।
‘तपाईंको बजार’का प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाका अनुसार कम्पनीले हाल नेपालभर विद्युतीय भ्यान तथा विद्युतीय बसमा वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको छ। सवारी साझेदारी सेवाका लागि विद्युतीय स्कुटर उपलब्ध गराउने योजना त्यसैको अर्को विस्तार भएको उनले बताए। कम्पनीका अनुसार योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै सवारी साझेदारी सेवामा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
‘भेट्रा एरोन’सम्बन्धी सुविधा पानीपोखरी, बुटवल र बिर्तामोडस्थित ‘तपाईंको बजार’का शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुन चालकले राष्ट्रिय परिचयपत्र, स्थायी लेखा नम्बर (प्यान) कार्ड, सवारीचालक अनुमतिपत्र र फोटो बुझाउनुपर्नेछ।