काठमाडौं- अहिले नेपाल वैदेशिक रोजागार व्यवसायी संघको सिफलस्थित कार्यालयको पर्खालमा २५ जना व्यवसायीको तस्बिरसहितको ब्यानर टाँगिएको छ। ब्यानरमा ठूलो अक्षरमा ‘सिण्डिकेटधारीहरुको मुखमा किरा परोस्, सास जाने बेलामा सहयोगी नपाई मरोस्’ लेखिएको छ। अझ मंगलबार त सबै व्यवसायीको तस्बिरमा कालो टीका लगाइदिएकोसमेत देखियो।
शुक्रबार केही व्यवसायीहरु जम्मा भएर ‘सिण्डिकेटधारी मुर्दावाद’ भन्ने नारा लगाउँदै ब्यानरमा राखिएका २५ जना व्यवसायीका तस्बिरमाथि जुत्ता फुकाल्दै हानेको भिडियो सार्वजनिक भयो। उनीहरुले मंगलबार पनि त्यसलाई निरन्तरता दिए। उक्त दिन जम्मा भएका व्यवसायीहरु थप आक्रोशित बन्दै आफूले लगाएका जुत्ता फुकालेर ब्यानरमा हानिरहेका थिए।
यसरी आफ्नो तस्बिरमा जुत्ता खाने २५ व्यवसायी मलेसियाको रोजगारीमा एकाधिकार (सिण्डिकेट) भित्र्याउन सक्रिय भनिएकाहरु हुन्। मलेसियाको विदेशी कामदारको एकीकृत व्यवस्थापन प्रणाली (एफडब्ल्युसिएमएस) मा मुख्य एजेन्सीका रुपमा सूचीकृत ती व्यवसायीविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरु संघर्षमा उत्रिएका हुन्।
गत अगस्ट २१ तारिखमा मलेसियाले सार्वजनिक गरेको २५ व्यवसायीको सूचीमा पछि २५० व्यवसायीलाई सहायक एजेन्सीको रुपमा थप गरिएपछि बाँकी व्यवसायीहरु थप आक्रोशित बनेका छन्। संघले यसविरुद्ध सरकारसँग निरन्तर खबरदारी गरिरहेका भए पनि व्यवसायीहरु ढुक्क देखिँदैनन् त्यसैले संघलाई दबाब दिन संघको कार्यालयमा दिनभर धर्ना दिएर बस्ने गरेका छन्।
उक्त समूहमा सहभागी गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिका सञ्चालक दिनेश श्रेष्ठ एकाधिकार ल्याउने खेलबाट पछि हट्न दबाब दिने अभिप्रायले यस्तो गरिएको बताउँछन्। ‘जुत्ता प्रहारको विषयमा हाम्रो इच्छाले जुत्ता हानेको होइन। उहाँहरुलाई सामाजिक तिरस्कार गर्दा केही लचिलो हुनुहोला भनेर हो,’ उनले भने, ‘तर अझै पनि जुत्ता खाने मन छ भने अघि बढ्दै जानुहुन्छ, हामी पनि संघर्षका कार्यक्रम अघि बढाउँछौं।’
हाल संघमा सानो संख्यामात्र उपस्थित हुँदै आए पनि परिआए तत्काल भेला हुने गोप्य समूह पनि बनेको जनाइएको छ। उक्त समूहमा झण्डै डेढ सय व्यवसायी एकीकृत भएकाले एकाधिकारमा मुछिएकाहरु पछि हट्नुको विकल्प नभएको श्रेष्ठले चेतावनी दिए। ‘उहाँहरु पनि व्यवसायी नै हो। भोलि यही व्यवसायमा फर्किएर आउने बाटो राख्नुपर्छ भनेर सांकेतिक विरोधमात्र गरिरहेका छौं,’ उनले भने, ‘पेलेरै जान खोज्नुभयो भने उहाँहरुले थेग्नै नसक्ने कार्यक्रम हामीसँग छन्।’
संघमा व्यवसायीहरुको समूह बिहान करिब १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म भेटिन्छ। लोकतान्त्रिक एसोसिएसन उक्त समूहले संघले दिनभरि केके गर्छ, संघको नेतृत्व कुनकुन निकायमा जान्छन् जस्ता जानकारी राख्छ र मलेसिया रोजगारीमा एकाधिकार लगाउने प्रयासलाई कसरी परास्त गर्ने भनेर योजना बनाउँछ। आफ्नो कामलाई पनि निरन्तरता दिनपर्ने भएकाले उक्त समूहमा जोडिएकाहरु आवश्यकता अनुसार कोहि कार्यालय पुग्दै फेरी संघमै आइपुग्छन्। कोहि भने संघमै बसेर आफ्ना कर्मचारीहरुलाई यसरी काम गर्नू भनेर खटाइरहेका भेटिन्छन्। संघलाई घच्घच्याउन र व्यवसायीलाई सजग बनाउन आफूहरु नियमित रुपमा उपस्थित हुने गरेको उक्त समूहको दाबी छ।
राज्यले सबै व्यवसायीलाई इजाजत दिएपछि समान रुपमा व्यवसाय गर्न दिनुपर्ने आम व्यवसायीको माग छ। व्यवसायीहरुको छाता संगठन संघलाई एकाधिकारविरुद्ध लड्न दबाब र आवश्यक पर्दा साथ दिन आफूहरु नियमित आउने गरेको सेक्युअर नेपाल जब प्लेसमेन्ट प्रालिका संञ्चालक एवं नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका महासचिव सुमनराज पाण्डेले बताए। आफूहरु दलगत आवद्धताबाट टाढा बसेर सबैले व्यवसाय गर्न पाउनपर्छ भनेर नियमित भेला हुने गरेको पाण्डेको भनाइ छ।
‘हामी सिण्डिकेटविरुद्ध लड्न संघलाई खबरदारी गर्न आउँछौं। संघमा आएका व्यवसायीहरुलाई सिण्डिकेटमा लाग्नु गलत हो भनेर सम्झाउँछौं,’ उनले भने, ‘२२ तारिख शनिबारदेखि एक दिन पनि नबिराई आइरहेका छौं। सिण्डिकेट नहटेसम्म हामी आइरहन्छौं। यो कुनै पार्टीको समूह नभएर सबैले व्यवसाय गर्न पाउनपर्छ भन्ने स्वतन्त्र समूह हो।’
एफडब्ल्युसिएमएसमा सूचीकृत व्यवसायीहरु भने उक्त प्रणालीबाट नाम फिर्ता लिनुको साटो १०-१० जनाको व्यवसायीको समूह बनाएर थप २५० व्यवसायीलाई उक्त प्रणालीमा आबद्ध गराएका छन्। उनीहरु व्यवसायीको संख्या बढाएरै भए पनि आफूले मात्र काम गर्न पाउने व्यवस्था ल्याउन खाजेको देखिन्छ। यद्यपि युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले भने आरोपित व्यवसायीमाथि छानबिन अघि बढाइसकेका छन्। सोमबार विभागले ती व्यवसायीहरुलाई पत्र लेखेर सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइसकेको छ।