कांग्रेस संस्थापनले यही असोज ३ बाट वडा अधिवेशन थालेर असोज १६ गते खुल्लामञ्चमा १५औं महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ। देउवा पक्षले मंसिर २१ बाट महाधिवेशन गर्ने जनाएको छ।
काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १११ जनालाई केन्द्रीय सदस्य बनाउने संस्थापनको ‘अफर’ अस्वीकार गरेको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले संस्थापनको प्रस्ताव अस्वीकार गरेको हो।
कांग्रेसका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय नहुने उल्लेख गर्दै देउवा पक्षका नेता डा. शशांक कोइरालाले आफूहरु बेग्लै महाधिवेशनमा अघि बढ्ने बताए। ‘नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ उनले भने, ‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फीरूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटीरूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।’
कांग्रेस संस्थापनले यही असोज ३ बाट वडा अधिवेशन थालेर असोज १६ गते खुल्लामञ्चमा १५औं महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ। देउवा पक्षले मंसिर २१ बाट महाधिवेशन गर्ने जनाएको छ। उक्त महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक हुन्। गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिलाई शशांकले ‘कथित’ भनेका छन्। ‘कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिन्छ,’ शशांकले भनेका छन्।


शशांकले पत्रकार सम्मेलनमार्फत संस्थापनले आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन्। ‘सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपिल गर्दछौं। असोज ३ गतेबाट विधि प्रक्रिया मिचेर सुरु गर्ने भनिएको तथाकथित अधिवेशन र महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं,’ शशांकले भनेका छन्, ‘१४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौं।’
पूर्णबहादुर र शेखरको साथ कसलाई ?
कांग्रेस वृत्तमा अहिलेका सभापति गगन थापाले पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई सभापति बन्न अफर गरेको चर्चा चलेको छ। त्यसैले दुवै नेता गगन पक्षमा खुलेर लाग्ने तयारीमा देखिन्छन्। ‘आफूलाई प्रधानमन्त्री बनाउने सर्तमा गगन थापाले खड्का वा शेखरलाई सभापति मान्न तयार देखिन्छन्,’ गगननिकट एक नेताले भने।
पछिल्लो समय देउवा समूहको भेलामा खड्का र शेखर देखिन छाडेका छन्। खड्का समूह चोइटिए त्यसलाई रोक्न नसकिने शशांक बताउँछन्। ‘हामी एकताबद्ध भएर जान चाहन्छौं। कुनै समूह चोइटिन्छ भने हामीले के नै गर्न सक्छौं ?,’ शशांकले भने।
शेखरले भने दुवै पक्ष एक हुनुपर्ने नभए दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने बताउँदै आएका छन्।
महाधिवेशन रोक्न सर्वोच्चमा परेको रिट दरपीठ
कांग्रेसको गगन पक्ष र देउवा पक्षले गर्न लागेका अलग–अलग १५औं महाधिवेशन रोक्न माग गरिएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ। सोमबार सर्वोच्चमा अधिवक्ता मणिराम उपाध्यायले रिट निवेदन दिएका थिए। उपाध्यायले दुवै पक्षले गर्न लागेका महाधिवेशन रोक्नका लागि आदेश माग गरेका थिए।
यससम्बन्धी विवादमा परेको रिट विचाराधीन रहेकाले महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ गरिएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। देउवा पक्षले सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिएको छ। देउवा पक्षको मागबमोजिम सर्वोच्च अदालतले निस्सा दिएको छ।