काठमाडौं– संस्थापनइतरलाई पेलेरै जाने नीति लिएका सभापति गगन थापा महाधिवेशन नजिकिएसँगै लचक बनेका छन्। यसअघि विशेष महाधिवेशन बहिष्कार गरेका नेताहरुलाई केन्द्रीय समितिमा ल्याउन अनिच्छुक सभापति थापाले आइतबार केन्द्रीय समितिमा ल्याउने निर्णय गरेका हुन्।
१४औं महाधिवेशनबाट कांग्रेसमा १७० भन्दा बढीको केन्द्रीय कार्यसमिति बनेको थियो। गत पुसमा थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन पूर्वसभापति देउवापक्षले बहिष्कार गरेको थियो। बहिष्कार गरेकामध्ये १९ जनालाई गगनले गत वैशाख २८ गते केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
पार्टी एकीकरणको विभिन्न प्रयासपछि इतर पक्षले १११ जनालाई पनि केन्द्रीय समितिमा अटाउनुपर्ने माग गरेको थियो। यही मागलाई आइतबारको बैठकले सम्बोधन गरेको कांग्रेस प्रवक्ता देवराज चालिसले बताए। ‘१४औं महाधिवेशनमा निर्वाचित हुनुभएका विशेष महाधिवेशन हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका समितिका साथीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागितका विधानबमोजिम आवश्यक प्रबन्ध गरिने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेले भने।
कार्यसम्पादन समितिको यो निर्णयले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गरी एकताबद्ध रूपमा महाधिवेशन अघि बढाउने प्रयासस्वरूप आएको बुझिएको छ। यसअघि गगनले आफ्नो निर्देशन नमान्ने वडा सभापतिदेखि जिल्ला सभापतिसम्मलाई कारबाहीसमेत गरे। यसको पहिलो सिकार कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) बने। कान्छारामलाई वैशाख १६ गते कांग्रेसले जिल्ला सभापतिबाट निलम्बित गरेको थियो।
- विशेष महाधिवेशन बाहिस्कार गरेकामध्ये १९ जनालाई गगनले गत वैशाख २८ गते केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए
- देउवा समूहका १११ जनालाई पनि अब केन्द्रीय समितिमा समायोजन गर्न गगन तयार
- देउवा समूहका नेताहरु भने १४औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवालाई ‘ग्रेसफूल एक्जिट’ दिन उनकै नेतृत्वमा १५औं महाविधेशन हुनुपर्ने अडानमा
- देउवा समूहको यो अडानले विशेष महाधिवेशन ‘कोल्याप्स’ हुने डर गगन समूहमा देखिएको छ
माघ १ गते सभापति बनेका थापाको पक्षमा निर्वाचन आयोगले फागुन २१ को निर्वाचनअघि नै आधिकारिकता दिएको थियो। सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगकै निर्णयलाई सदर गरेपछि सभापति थापाले क्रियाशील सदस्यता कार्डमा आफ्नो हस्ताक्षर चलाउन अद्यावधिक अभियान चलाएका थिए। मंसिरमामात्र नवीकरण गरेकोले अधिकांश नेता कार्यकर्ताले अद्यावधिकमा रुचि नदेखाएपछि गगन यो निर्णयबाट पछि हटेका थिए।
यसबारे आइतबारको कार्यसम्पादन समितिको बैठकले अद्यावधिकमा छुटेकालाई पनि सहभागी गराउने निर्णय गरेको छ।
‘अद्यावधिक प्रक्रियामा सक्रिय रहेका साथीहरूको असन्तुष्टि रहँदारहँदै पनि पार्टी महाधिवेशनमा सबैको उत्साहजनक सहभागिता हुनुपर्छ, कोही पनि छुट्नु हुँदैन भन्ने मान्यताका साथ ‘पार्टीले १५औं महाधिवेशनका लागि तहगत नवीकरणको सिफारिस भई २०८२ पुस २१ गतेसम्म नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन प्रणालीमा प्रविष्ट भएका सदस्यहरूमध्ये विविध कारणले अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूको हकमा पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका र प्रचलित कानुनबमोजिम पार्टी सदस्यता लिन नमिलेका सदस्यबाहेक अन्य क्रियाशील सदस्यहरूलाई पार्टीको १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन वञ्चित नगरिने’ निर्णय गरेको थियो। त्यसपश्चात् सबै तहमा अद्यावधिक प्रक्रियामा छुटेका सदस्य साथीहरू अधिवेशनको प्रक्रियामा जोडिइरहनुभएको छ, जो सकारात्मक छ,’ निर्णयमा भनिएको छ।
क्रियाशील सदस्यता अद्यावधिकमामात्र हैन, वडाअधिवेशनका लागि पनि स्थानीय कार्याकर्ता तयार नदेखिएपछि भदौ २४ गते गर्ने भनिएको वडा महाधिवेशन असोज ३ र ४ गते गर्ने भएको छ।
कांग्रेस संस्थापनको यो निर्णय आफूहरुलाई मान्य नहुने देउवापक्षका नेताहरु बताउँछन्। देउवालाई ‘ग्रेसफूल एक्जिट’को माग अघि सार्दै आएका इतर पक्षका एक नेता एनपी साउदले भने, ‘उहाँहरूले त्यो निर्णय राजनीतिक रूपमा पनि स्वीकार्ने कुरा होइन। यो नैतिकतासँग पनि जोडिएको विषय भएकाले स्वीकार्ने कुरा होइन।’ देउवा समूहको यो निर्णयले विशेष महाधिवेशन ‘कोल्याप्स’ हुने डर गगन समूहमा देखिएको छ
महाधिवेशन उद्घाटन खुल्लामञ्चमा
महाधिवेशनका लागि राष्ट्रिय सभागृह बुक गरेको नेपाली कांग्रेसले उद्घाटनसत्र भने खुल्लामञ्चमा गर्ने भएको छ। ‘असोज १६ गते १ बजे खुल्ला मञ्चमा उदघाटनसत्र प्रारम्भ हुने छ। पार्टीको सांगठनिक र राजनीतिक जीवनमा महाधिवेशन प्रक्रियामात्र नभएर महाउत्सव पनि हो,’ कांग्रेसको निर्णयमा भनिएको छ।
कांग्रेसले भदौ २४ गते गर्ने भनिएको वडा महाधिवेशन असोज ३ र ४ गते गर्न लागेको छ। यो अधिवेशनमा उत्साहजनकरुपमा सहभागी हुन बैठकले आग्रह गरको छ।
यसैगरी बाढीप्रभावित तीन जिल्ला रसुवा, नुवाकोट र धादिङको अधिवेशनसम्बन्धी समस्या समाधान गर्न ती जिल्लाका सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्व बसेर छलफल गरी निकास निकाल्ने निर्णय गरिएको छ।
देउवा समूहका तीन नेता जिल्ला नजाने
देउवा समूहले भने मंसिर २१ गतेबाट महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ। यसका लागि देउवा समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि शनिबार खटाएको थियो।
तर तीन नेताले भने समानान्तर गतिविधिमा नलाग्ने भन्दै जिल्ला नजाने घोषणा गरेका छन्। तेह्रथुमका लागि प्रतिनिधि खटाएकी सीता गुरुङले आफूलाई नसोधि आएको निर्णय भन्दै जिल्ला नजाने बताएकी छन्। यसैगरी पूर्वकेन्द्रीय सदस्य गोविन्द भट्टराई तथा पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्याललगायतले आफूहरू समानान्तर अधिवेशनमा नलाग्ने जनाएका छन्।