काठमाडौं- कावेली हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नयाँ बानेश्वरमा शनिबार सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष राजेश खड्काले गरेका थिए।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष खड्काले प्रस्तुत गरेको कम्पनीको वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरिएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। त्यस्तै, लाभांश वितरणलगायत विभिन्न विविध प्रस्तावहरू सभाबाट अनुमोदन भएका छन्। कम्पनीले चुक्ता पुँजीको १६.३१५ प्रतिशतका दरले हुने २६ करोड ९२ लाख १० हजार ७ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।
यसैबीच, कम्पनीले निकट भविष्यमै ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने जानकारी दिएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वित्तीय विवरणमा सेयर पुँजी १ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोष ५४ करोड ४७ लाख ५२ हजार ६ सय ८९ रुपैयाँ ८५ पैसा, मध्यम तथा दीर्घकालीन ऋण २ अर्ब ९० करोड १ लाख २२ हजार ३ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ।
त्यस्तै, स्थिर सम्पत्ति ४ अर्ब ८९ करोड ८३ लाख ४० हजार ४९ रुपैयाँ ११ पैसा, अन्य चालु सम्पत्ति ४ करोड ६२ लाख २७ हजार २ सय १५ रुपैयाँ ९७ पैसा, नगद तथा बैंक मौज्दात ६६ करोड ७ लाख २३ हजार ७ सय ९९ रुपैयाँ ६६ पैसा र चालु दायित्व ६८ करोड १८ लाख ८१ हजार ५ सय ६६ रुपैयाँ ६५ पैसा रहेको कम्पनीले जनाएको छ।
कम्पनीले भविष्यको नयाँ अध्यायका रूपमा ९.८५ मेगावाट क्षमताको कावेली-३ जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी पनि साधारण सभामा दिएको छ। सभामा कम्पनीमा आबद्ध सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, आयोजना तथा भावी योजनालगायत विभिन्न विषयमा प्रश्न उठाएका थिए। ती प्रश्नहरूको जवाफ अध्यक्ष खड्का तथा कम्पनीका अन्य पदाधिकारीहरूले दिएका थिए।
कावेली हाइड्रोपावर कम्पनीले ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिका-५, पेदाङस्थित काबेली खोलामा आयोजना निर्माण गरेको हो। कम्पनीले २१.९३ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी २०८२ भदौदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको जनाएको छ।