काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगमन्त्रीमा नियुक्त गर्न उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
नियुक्तिको सिफारिसपत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।
नयाँ उद्योगमन्त्री साहलाई आजै साँझ पद तथा गोपनीयताको शपथ गराइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए।
साह सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
बुधबार संसदीय समितिमा विवादित अभिव्यक्ति दिएको उद्योगमन्त्री गौरीकुमारी यादवले आज राजीनामा दिएपछि रिक्त पदमा साहलाई मन्त्री नियुक्त गर्न लागिएको हो। यादवले खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन दिएको निर्देशन ग्यास उद्योगीले पालना नगरेको भन्दै उद्योगीलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनले ग्यास उद्योग खारेज गरेर नेपाल आयल नियमले नै उद्योग सञ्चालन गर्नुपर्ने बताएकी थिइन् ।
मन्त्री यादवको सोही अभिव्यक्ति विवादित बन्यो र अन्तत: राजीनामा दिइन्। काठमाडौं उपत्यकामा ग्यासको हाहाकार हुँदा पनि व्यवस्थापनमा मन्त्रालय असफल भएको थियो।