काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गरे ।
बैठकमा सांसद खगेन्द्र कर्णले राजविराजमा एक महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाको यथार्थका बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरे । सांसद अङ्किता ठाकुरले पनि राजविराजमा महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाले राज्य प्रणालीको कुरूप अवस्था चित्रण गरेको उल्लेख गरिन् । साथै उनले यसबाट संविधानको मौलिक अधिकार हनन भएको बताइन् ।
सांसद धनबहादुर बुढाले भोटेकोशी बाढीले डोल्पालाई पनि प्रत्यक्ष छोएको र सुरुङमा काम गर्ने जिल्लाका स्थानीय नागरिक सम्पर्कविहीन भएकाले खोजीमा तीव्रता दिन र यथार्थ अवस्थाका बारेमा परिवारलाई जानकारी गराउन माग गरे । सांसद कालिबहादुर सहकारीले कालीकोटमा पहिरोबाट प्रभावित जनताको बारेमा अवगत गराउँदै उद्धार र राहतका लागि सरकारसँग आग्रह गरे । साथै उनले कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा स्थानीय जनताले यात्रामा कठिनाइ भोग्नु परेको जानकारी गराए ।
सांसद गङ्गालक्ष्मी अवालेले भोटेकोशी बाढीको उद्धारमा खटिएका जनशक्तिहरूका लागि सामग्री अभाव हुँदा प्रभावकारी काम गर्न नसकेको देखिएकाले सकेसम्म त्यस्ता सामग्री आपूर्ति गर्न सरकारसँग माग गरिन् । सांसद प्रेमबहादुर बयकले जनताले ग्यासको अभावमा आत्महत्या प्रयास गर्नुपरेको अवस्था देखिएको बताउँदै तत्काल समाधानका सरकारको ध्यानाकर्षण गराए । सांसद माधवबहादुर थापाले पाल्पाका स्थानीय कामका लागि अर्घाखाँचीमा गएका र एक प्रतीक्षालयमा बसेका बेला कुटपिटमा परेको जानकारी दिँदै निष्पक्ष छानबिनको माग गरे।
सांसद रामविनोद यादवले भोटेकोशीको बाढीमा निधन भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै सो घटनामा परी बेपत्ता हुनुभएका धनुषाका इन्जिनियर अजयप्रसाद सिंहको वास्तविक स्थितिबारे जानकारीका लागि बारेमा पहल गरिदिन आग्रह गरे । सांसद योगेश गौचन थकालले यही भदौ २३ गते राति मुस्ताङ केन्द्रविन्दु भइगएको भूकम्पपछि आठ पटक धक्का महसुस भएको र भौतिक संरचना तथा ३०० भन्दा बढी घरमा सामान्य क्षति भएको जानकारी गराउँदै प्रभावितका लागि तत्काल राहतको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद कविन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा परी गोरखाका बेपत्ता नागरिकका परिवार आज प्रतीक्षामा रहेको बताउँदै सरकारबाट खोज, उद्धार र राहतका काम भएका तथा थप प्रभावरकरी बनाउन आग्रह गरे । सांसद बोधनारायण श्रेष्ठले ग्यासको समस्या यथावत् रहेको र वितरण प्रणालीमा समस्या देखिएको बताए । सरोकारवाला राखेर प्रत्यक्ष प्रसारण गरे समस्या कहाँ छ भनेर जानकारी हुने बताउँदै उनले उपभोक्ताले पनि धेरै ग्यास जम्मा गरेर राख्दा समस्या भएकाले त्यसमा उपभोक्ताले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।