एक वर्ष भएछ जेन-जी आन्दोलन भएको । क्यालेण्डरले त एक वर्ष भन्यो, तर सडकमा बगेको रगतले समयलाई त्यति सजिलै एक वर्षमा हिसाब गर्दैन । त्यो दिन सडकमा ढलेका स्कुले विद्यार्थीका झोला, कापी, कलम र किताबहरू अझै प्रश्न गरिरहेका छन्, ‘हामीले के मागेका थियौं, अनि किन हाम्रो रगत चाहियो ?’ सुशासन मागेका थिए । भ्रष्टाचार अन्त्य गर भनेका थिए । यही देशमा पढेर, यही देशमा काम गरेर, यही देशमा पसिना बगाएर बाँच्न पाइयोस् भनेका थिए ।
सरकारले सुनेन । सत्ताले सुनेन । बरु गोली बोल्यो । अन्धाधुन्ध गोली चल्यो । सडकमा आन्दोलन गर्न आएकामात्रै होइन, परिस्थितिले सडकमा पुगेका निर्दोष विद्यार्थीसमेत त्यसको चपेटामा परे । कसले गोली चलायो, कसले आदेश दियो, कसले भीडलाई उक्सायो र कसले निर्दोषलाई निशाना बनायो ? यी प्रश्नहरूको जवाफ खोज्ने काम अझै पूरा भएको छैन ।
तर एउटा कुराचाहिँ स्पष्ट देखिएको छ । धेरै आमाका काख रित्तिए । धेरै बाबाका सपना चकनाचुर भए । कसैको छोरा फर्किएन । कसैकी छोरी फर्किइनन् । घरमा किताबको ठाउँमा फोटो झुण्डियो । स्कुल जाने उमेरमा शोकसभा भयो । त्यसपछि देश रिसले तात्यो । रिसको त्यो बेगले सडक ततायो, सयौं भवन र सवारी जलायो, सिंहदरबार फेसबुकमा जलाउँछु भनेका थिए । जलाउनेले त्यही सुनेर जलाइदियो । संसद् जलाइदियो अनि सर्वोच्च अदालत पनि खरानी बनाइदियो । सत्तामा बस्नेहरुलाई उही सेनाले हेलिकप्टरमा चढाएर सत्तालाई अस्ताइदिए ।
अर्थात् शक्तिशाली भनिएको घमण्डी एउटा सरकार गयो । अनि भद्रकालीबाट नयाँ सरकार आयो । कुर्सी फेरियो । गाडीमा झण्डा फेरियो । अनुहार फेरिए । तर शासन फेरिएन । बालकको रगतमा बनेको सत्ताको भूमरीमा मट्याङ्ग्राहरु परिरहेको थिए । रगतले भिजेको जुत्ता भेटिएको ठाउँतिर मट्याङ्ग्राहरु पुग्यो । त्यसै बेला छोरालाई चिलगाडी चढाउने ठेक्का पाएको कन्सल्टेन्सीबाट बैरी फुत्त निस्कियो । अनि उसले सोध्यो, ‘के छ मट्याङ्ग्रा, देखिस हैन ?’
‘देश बनिरहेको छ । चुनाव भयो नि ! भटाभट छाप हानियो । अनि, नयाँ सरकार बन्यो । अनि जेन-जी हाम्रा छोराहरुको सपना बोकेर आएँ म त, यी हेर त पक्का भयो,’ हातमा भएको पासपोर्ट देखाउँछ । मट्याङ्ग्रो केही बेर चुप लाग्यो । आकाशतिर हेर्यो अनि भन्यो, ‘जेन-जीका सपना चकनाचुर !’ बैरीले भन्यो, ‘अनि सुशासन ? स्वदेशमा नै रोजगारी ?’ ‘त्यो पनि फाइलमा छ ।’ ‘भ्रष्टाचार अन्त्य नि ?’‘त्यो चाहिँ फाइलबाहिरै सक्रिय छ ।’ मट्याङ्ग्रोले लामो सास फेर्यो ।
बैरीले भन्यो, ‘त्यो खोज्न छोराछोरीहरु विदेश जाने तयारी भइरहेको छ ।’ मट्याङ्ग्रो मुस्कुरायो ।जसले देशमै बस्न खोजे, उसलाई देशले बाहिर जान बाध्य बनायो । जसले देशमै रोजगारी खोजे, उसलाई पासपोर्ट कार्यालयको लाइन देखाइयो । जसले यही देशमा भविष्य खोजे, उसलाई विमानस्थलको बाटो देखाइयो । आखिर सत्ता नयाँ, सत्ताको शैली पुरानै त भयो नि ? जेन-जी आन्दोलनले सरकार ढाल्यो । तर शासन गर्ने शैली ढाल्न सकेन कि ? सत्तामा नयाँ मान्छे पुगे । तर सत्ताको वरिपरि घुम्ने पुराना पात्रहरू फेरिएनन् । शक्तिशाली सत्ता ढाल्न सक्ने जेन-जी आत्मदाह गरेर, बाटोमा आफैं ढले !
बैरीले सोध्यो, ‘त्यसो भए अब सरकार कसरी अगाडि बढ्छ ?’ मट्याङ्ग्राले भन्यो, ‘एकदम परिपक्को, त्यही पुरानै नीति, पुरानै प्रवृत्ति, त्यो झन् पुरानै, कोटेसन । यस्तैबाट चल्छ ।’ त्यो चाहिँ समयभन्दा पनि पुरानो ! देशमा सरकार फेरिनु, मन्त्री फेरिनु, सचिव फेरिनु सामान्य भयो । तर ठेक्का, कोटेसन, कमिसन, बिचौलिया, पहुँच र भागबण्डाको संस्कारचाहिँ यस्तो बलियो रहेछ कि सरकार ढल्दा पनि त्यो ढल्दैन । सत्ता परिवर्तन हुन्छ । सत्ताको संरचना परिवर्तन हुँदैन । ढुक्क भएस् ।
बैरीले छोराको कन्सल्टेन्सीबाट भिसा लगाएर ल्याएको पासपोर्टमा हेर्दै भन्यो, ‘यही देशमा गरिखान दे न सरकार ! भन्दै गएका थिए । तर नयाँ सरकार पनि ग्यासमा लाइन । पासपोर्टमा लाइन, अस्पतालमा लाइन । सरकारी सेवामा लाइन । कतै आवेदन दिन लाइन । विश्वविद्यालयमा प्रमाणपत्र लिन लाइन । अब त लाग्छ, नेपालमा नागरिकताको अधिकारभन्दा लाइन बस्ने अधिकार बलियो छ ।’
मट्याङ्ग्रोले बैरीलाई भन्यो, ‘अब नेपालमा दुई कुरा सजिलै पाइन्छन् ।’ बैरीले सोध्यो, ‘के ?’ मट्याङ्ग्राले उत्तर दियो, ‘हरेक कुरामा लाइन अनि कर ।’ बैरीले भन्यो, ‘कर त विकासका लागि हो नि !’ मट्याङ्ग्रो हाँस्दै भन्यो, ‘हो, हो । शिक्षा महँगो भयो, कर । मान्छे मर्ने बेला भयो उपचार कर, यातायात, खानपिन, घर करै कर । जनतालाई छैन भर ।’ यही नै त जेन-जीको सपना थियो । विदेश जान नपर्ने देश । तर एक वर्षपछि पनि युवाको सपना विमानस्थलमा लाइन बसिरहेको छ । ४७ साल, ५२ साल, ७२ साल, ८२ साल नेपालको राजनीतिक इतिहास हेर्दा वर्ष फेरिए । व्यवस्था फेरिए । नारा फेरिए । दल फेरिए । नेता फेरिए । तर जनताको दुःखले नयाँ पोसाक लगाएर फेरि पुरानै अनुहार देखायो ।
४७ साल आयो, आशा जाग्यो । ५२ साल आयो । फेरि संघर्ष भयो । ७२ साल आयो । फेरि संविधान, पुनर्निर्माण र समृद्धिका सपना देखाइए । ८२ साल आयो, फेरि परिवर्तनको कुरा भयो । अब जेन-जी आयो । अनि व्यवस्था पनि बदलिँदो रहेछ । अनि जनताचाहिँ उही लाइनमा ! जुन जोगी आए पनि कानै चिरेका । एक वर्ष भया, ३५ वर्षमा धेरैले खाएर देश रित्तियो । अबचाहिँ केही हुन्छ । नयाँ मन्त्री आउँछ, नयाँ बजेट आउँछ तर रोजगार त आउँदै आएन ! मट्याङ्ग्राले सोचेको थियो । अबचाहिँ भ्रष्टाचार घट्छ । तर फेरि उही कथा । उही ठेक्का । उही बिचौलिया । उही पहुँच । उही भागबण्डा । उही आश्वासन । उही निराशा । फरक यत्ति हो- पहिले भाषणमा समृद्धि धेरै सुनिन्थ्यो, अहिले फेसबुकमा देखिन्छ ।
इतिहासमा एउटा आन्दोलन पाए, देशले एउटा सरकार पायो, नेताहरूले नयाँ कुर्सी पाए; तर आमनागरिकले अझै पुरानै लाइन पाए । सरकार ! जेन-जीले तिमीलाई सत्ता मागेका थिएनन् । उनीहरूले आफूलाई आफ्नै देशमा भविष्य मागेका थिए । किनकि, ४७ साल होस्, ५२ साल होस्, ७२ साल होस् वा ८२ साल वर्ष फेरिए पनि यदि शासनको चरित्र फेरिएन भने, इतिहासमा मट्याङ्ग्राले फेरि लेख्छ, ‘जुन जोगी आए पनि कानै चिरेका !’