काठमाडौं– ललितपुर धोबीघाटकी सरला सापकोटाले नेपाल ग्यास खोज्न थालेको सात दिन भइसक्यो। कतै पनि ग्यास नपाएपछि सापकोटा टेकुस्थित नेपाल आयल निगमको डिपो पुगिन्।
तर डिपोमा ग्यास नै नपाइने भन्दै सूचना टाँसेको भेट्टाइन्। ‘पहिले अभाव हुँदा यहीबाट ग्यास लग्थेँ। यसपाला ग्यास छैन भनेर सूचना नै टाँसेको रहेछ,’ सापकोटाले भनिन्। तत्कालका लागि ग्यास नपाउने देखेर सरला चिन्तामा छिन्। अहिले ग्यास खोज्न आउनेको लर्को लागेपछि टेकुमा प्रहरी नै खटाएर सर्वसाधारणलाई सम्झाउनुपरेको निगमका कर्मचारी बताउँछन्।
स्वयम्भू बस्दै आएका हरि लामाले बालाजु पुगेर बल्लतल्ल ग्यासको जोहो गरेको बताए। नाकाबन्दीको समयमाभन्दा पनि धेरै मुस्किलले बालाजु पुगेर ग्यास पाएको लामा बताउँछन्। ‘यस्तो मुस्किल त मलाई नाकाबन्दीमा पनि भएको थिएन,’ लामाले भने।
जोरपाटीकी राधिका लम्साल धेरै ठाउँ धाउँदा पनि ग्यास नपाएपछि सिफलचाौर पुगेर सिलिण्डर लाइनमा राखेकी छन्। सोमबार सिलिण्डर लाइनमा राखेकी लम्साललाई चार दिनपछि ग्यास पाउने डिपो सञ्चालकले वचन दिएका छन्। एभरेस्ट र सुगम ग्यासको डिपो रहेको सिफलमा ग्यासको लाइन लाग्न थालेको धेरै दिन भइसक्यो। राधिका धेरै ठाउँ डुलेपछि यहाँ नाम लेख्न पाएको बताउँछिन्।
काठमाडौं उपत्यकामा ग्यासको हाहाकार हुन थालेपछि सहरी क्षेत्रका बासिन्दा भौतारिन थालेको हप्ता दिनभन्दा बढी भइसक्यो। भदौ १० गतेको भोटेकोशी बाढीका कारण कृष्णभीर खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएसँगै यो समस्या आएको आयल निगमको दाबी छ।
काठमाडौं उपत्यकामा २२ उद्योगमध्ये १८ वटामा बुलेट आउने स्थिति छैन। बाटो नबनेसम्म बुलेट आउँदैन। देशभरको ४० प्रतिशत ग्यास यतै खपत हुन्छ। दैनिक २५ हजारदेखि ४० हजार सिलिण्डर चाहिन्छ। १० गतेअघिसम्म बुलेट नियमित आएको थियो। अहिले सडक अवरुद्ध हुँदा बजारको डिमाण्ड मिट गर्न धेरै मुस्किल छ।
मनोजकुमार ठाकुर
प्रवक्ता, आयल निगम
००
हामीले ग्यास पुर्याउन सबै प्रयास गरेका छौं। तर, पनि बाटोका कारणले सकिरहेका छैनौं। अहिले जुन हिसाबले ग्यास काठमाडौं गइरहेको छ, त्यसले निश्चय पनि अभाव कम गर्ने विश्वास हामीले लिएका छौं।
गोकुल भण्डारी
प्रबन्ध निर्देशक, नेपाल ग्यास
त्यसै कारण ग्यास उद्योगका सिलिण्डर बोकेका सवारीसाधन काठमाडौं आउन सकेको छैन। यद्यपि पछिल्लो तीन दिनमा निगमले वैकल्पिक मार्गबाट ८७ हजार ८७७ सिलिण्डर काठमाडौं ल्याएको दाबी गरेको छ। निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका लागि वैकल्पिक मार्गबाट सिलिण्डर ल्याउने व्यवस्था मिलाएको जनाएको छ। तर पनि उपत्यकाका डिपोहरुमा किन ग्यासको लाइन लामो हुँदै गएको छ त?
आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार काठमाडौं उपत्यकाको २२ उद्योगमध्ये १४ वटा उद्योगको ग्यास बुलेट आउन सकेको छैन। जसकारण उपत्यकामा ग्यासको हाहाकार देखिएको हो। ‘बाटो नबनेसम्म बुलेट आउने स्थिति छैन। देशभरमध्ये ४० प्रतिशत ग्यास काठमाडौंमै खपत हुन्छ। दैनिक २५ हजारदेखि ४० हजार सिलिण्डर चाहिन्छ। १० गते अघिसम्म बुलेट नियमित थियो। अहिले त सडक ठप्प भएकोले बजारको डिमाण्ड मिट गर्न धेरै मुस्किल छ,’ प्रवक्ता ठाकुरले भने।
काठमाडौंको अनामनगरस्थित नेपाल ग्यास डिपोबाट सोमबार ग्यास लिएर घरतर्फ जाँदै उपभोक्ता । तस्बिरः रासस
हेटौडामा बुलेटको लाइन, ७४ वटै यतै होल्ड
काठमाडौं उपत्यकामा ग्यास पठाउन हेटौंडा क्षेत्रमा ग्यास बुलेटको लाइन छ। विभिन्न ग्यास कम्पनीको परिसरमा ग्यास बोकेका बुलेटको लाइन लाग्न थालेको हो।
यता कृष्णभीरको सडक भत्किएपछि ७४ वटा ग्यास बुलेट धादिङ, काठमाडौं, काभ्रेका बोटलिङ प्लान्टमा ‘होल्ड’ भएका छन्।
ग्यास उद्योग संघका अनुसार सगरमाथा ग्यासमा १४, नेपाल ग्यासमा १२, एभरेस्ट तथा सुगम ग्यासमा नौ र धादिङमा रहेका अन्य उद्योगमा बुलेट रोकिएर बसेका छन्। पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरको सडक भत्किएपछि उद्योगीले चितवन, नवलपरासी, मकवानपुर र पर्सामा रहेका बोटलिङ प्लान्टमा ग्यास भरेर सिलिण्डर काठमाडौं पठाइरहेका छन्। हेटौंडामा रहेको साहारामा तीन सिफ्ट कामदार परिचालन गरेर एभरेस्ट र सुगम ग्यास काठमाडौं पठाउन थालिएको छ। एभरेस्टको दक्षिणकाली चाल्नाखेल र सुगमको नौबिसे धादिङमा बोटलिङ प्लान्ट छ।
चितवनको पर्सामा रहेको साईबाबा ग्यास, धादिङमा रहेको श्रीकृष्ण ग्यास, वीरगञ्जमा रहेको मनोज ग्यास, साल्ट ट्रेडिङको एसटिसी, उग्रचण्डी ग्यासको पनि विभिन्न स्थानमा ‘रिफिल’ गरी पठाउने क्रम जारी रहेको बताइएको छ।
नेपाल ग्यासले चितवनमा रहेको शाखामार्फत रिफिल गरेर काठमाडौंमा ग्यास पठाइरहेको छ कम्पनीका प्रबन्ध निर्देशक गोकुल भण्डारीले बताए। ‘हामीले ग्यास पुर्याउन सबै प्रयास गरेका छौं। तर, पनि बाटोका कारणले सकिरहेका छैनौं। अहिले जुन हिसाबले ग्यास काठमाडौं गइरहेको छ, त्यसले निश्चय पनि अभाव कम गर्ने विश्वास हामीले लिएका छौं,’ भण्डारीले भने।