काठमाडौं- नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
सेनाले जडान सम्पन्न गरेपछि सोमबार गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो।
दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको भनी स्थानीय जनताका तर्फबाट सेनाको प्रशंसा गरिएको छ।
करिब २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइको उक्त बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ।
पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ।