काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औं दिन दुई जनाको जीवितै उद्धार भएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिक र नुवाकोटको विदुर नगरपालिका–१० वेत्रवातीस्थित बाढीले पुरिएको घरभित्रबाट एक महिलाको आज उद्धार भएको हो।
नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
यसैगरी सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढीप्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो।
गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उहाँको उद्धार गरिएको हो। उनी हिलोमा गाडिएको अवस्थामा थिइन्।
दुवैजनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।