- बट्टारको ब्यारेकमा बस्ने गृहमन्त्रीको नजिकका सिम्बुटारका पीडितसम्म पुगेन राहत
- बाढीले घर बगाएपछि पीडित परिवार डेरामा बस्न बाध्य
- पीडित ऐँचोपैँचो र मागेर खाना खाँदै
- राहत ब्यारेकमा थुप्रिएको गुनासो
- समन्वय अभावले राहत वितरण प्रभावहीन
नुवाकोट- सिम्बुटारमा वीरबहादुर तामाङको तीनतले घर थियो। अहिले पनि उनी त्यही ठाउँ पुग्छन्। तर, घर खोज्न होइन, आफ्नो घर भएको ठाउँ सम्झन। त्रिशूली किनारको त्यो ठाउँमा अहिले घर छैन। ढोका छैन। भान्सा छैन। अन्नपात छैन। छ त बाढीले थुपारेको गेग्रान।
‘अहिले त्यहाँ जाँदा यहाँ घर थियो भन्नेमात्रै छ,’ वीरबहादुरले भने, ‘गेग्रान थुप्रिएको छ। मान्छे र भैँसी जोगायौं, तर एक गेडो अन्न जोगिएन।’ बाढीले घर बगाएको सात दिन बितिसकेको छ। उनी घरभन्दा अलि माथि डेरा लिएर बसिरहेका छन्। डेराको भाडा कसरी तिर्ने भन्ने उनको चिन्ता छ। किनेर खाने पैसा छैन।
‘सरकारले राहत बाँडेको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, यहाँ हामीले सरकारबाट राहत पाएनौं। ऐँचोपैँचो गरेर खाँदै बसिरहेका छौं।’ वीरबहादुरको पीडा सिम्बुटारको एउटा परिवारकोमात्र होइन। त्रिशूली र भोटेकोशीको बाढीले सबै बगाएपछि बेहाल भएका परिवारहरूको हो।
यद्यपि, वालेन्द्र सरकार राहत वितरण भइरहेको जनाउँछ। गृहमन्त्री सुधन गुरुङ यही १२ भदौदेखि बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा छन् र उनको शब्दमा राहत बाँडिरहेको छ। केही तस्बिरहरू पनि सार्वजनिक भएका छन्। तर, बाढीले सबैथोक गुमाएका वीरबहादुरको प्रश्न छ- हामीकहाँ सरकारले राहत कहिले पठाउँछ ?
सरकारले राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकद्वार प्रणाली लागू गरेको छ। अर्थ मन्त्रालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत राहत संकलन र वितरणको व्यवस्थापन गर्ने घोषणा गरेको थियो। तर, सिम्बुटारकै दिनेश तामाङको अनुभव भने सरकारी दाबीभन्दा फरक छ।
त्रिशूलीको बाढीले घर बगाएको र अहिले तीन सदस्यीय परिवारसहित डेरामा बसेका उनले भने, ‘यहाँ राहत लिएर सरकार आएको छैन। अलिक पर बट्टारमा गृहमन्त्री सुधन गुरुङ आउनुभएको सुनेको छु। उहाँ त्यहाँ आए पनि राहत यहाँ आएन।’ उनको स्वरमा आक्रोशभन्दा बढी निराशा छ। ‘हाम्रो केही रहेन। लगाएको कपडाबाहेक केही छैन। अहिले घरको नामोनिशाना छैन,’ उनले भने।
बाढीपछि केही संस्थाले केही थान चाउचाउ र पानी ल्याएको उनी सम्झन्छन्। तर, सरकारी राहतको प्रतीक्षा अझै सकिएको छैन। ‘भन्न त राहत दिएको छु भनेर गृहमन्त्रीले मिडियामा भनेको सुनेँ,’ उनले भने, ‘तर, हामीले पाएनौं। हामीलाई के खाउँ, कसरी बाँचौं भन्ने चिन्ता छ।’
बाढीले रसुवा र नुवाकोटमा पारेको क्षति अकल्पनीय छ। राहत र उद्धार दुवैमा सेना खट्यो। तर, राहत वितरण प्रभावहीन भयो। यसपछि सरकारको आलोचना बढेको छ। नुवाकोटकै देवीघाटकी रोशनी श्रेष्ठ भन्छिन्, ‘हाम्रो खानेकुरा केही पनि छैन। चिनेजानेकाकोमा गएर मागेर खाँदै छौं। सरकारले राहत दिएन,’ उनले भनिन्।
उनकी आमा भने संयोगले बाढीबाट जोगिइन्। बाढी आउनुअघि नै त्रिशूली बजारतर्फ गएकी उनी त्यसपछि गल्छी हुँदै काठमाडौं पुगेकी छन्। बाढीपछि उनी अझै घर फर्किन सकेकी छैनन्। रोशनीले पनि गृहमन्त्री बट्टार आएको सुनेकी छन्। तर, उनको गाउँसम्म राहत नआएको गुनासो छ।
‘स्थानीय सरकार र विभिन्न संघसंस्थालाई राहत नदिनू, हामी नै दिन्छौं भनेको रहेछ,’ उनले भनिन्, ‘तर, आएन अहिलेसम्म।’ उसो भए राहत कहाँ गयो ? यो प्रश्न उठेको छ। बागमती प्रदेशसभा सदस्य तथा कांग्रेसको नुवाकोट सभापति रमेश महत राहत सामग्री अभाव नभएको बताउँछन्। उनका अनुसार राहत सेनाको बट्टारस्थित ब्यारेकमा जम्मा गरेर विभिन्न संस्थामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ, त्यसो हुँदा राहत वितरण प्रभावकारी भएन।
सरकारी विवरणअनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानमा हजारौं प्रभावितलाई आश्रय र राहत वितरण भइरहेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई जिल्लाका २६ स्थानमा राहत र आश्रय व्यवस्थापन भइरहेको जनाएका छन्।
तर, सिम्बुटारका दिनेश र वीरबहादुर तथा देवीघाटकी रोशनीजस्ता पीडितले राहत नपाएको भनिरहेका छन्। यसको अर्थ राहत छैन भन्नेमात्र होइन। राहत पुगेको भनिएको प्रणाली र वास्तविक पीडितबीच सम्पर्क टुटेको हुनसक्ने प्रश्न पनि हो। राहत वितरणको विषयमा स्थानीय, प्रदेश र संघ सरकारबीच पनि असमझदारी देखिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले एकद्वार प्रणालीको नाममा प्रदेश र स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरिएको गुनासो गरेका छन्। उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटेर तीन तहका सरकारबीच सहकार्यको आवश्यकता औंल्याएका थिए। तर, रास्वपाका नेता भूपदेव शाहले भने प्रदेश र स्थानीय सरकारले असहयोग गर्दा राहत वितरणमा समस्या भएको बताएका छन्।
यसरी संघले प्रदेश र स्थानीयलाई दोष दिने, प्रदेशले संघसँग समन्वय नभएको बताउने र राजनीतिक दलहरूले एकअर्कालाई असहयोगको आरोप लगाउने क्रम चलिरहँदा सिम्बुटारका पीडित भने राहतको पर्खाइमा छन्। कारण, बाढीको बहावसँगै घर बगे। पसल बगे। खेतबारी पुरिए। परिवारहरू विस्थापित भए। तर, बाढीको पानी घटेपछि अर्को संकट सुरु भएको छ- बाँच्ने संकट।
वीरबहादुर तामाङ
दिनेश तामाङ