- नुवाकोटमा ६९२, रसुवामा ५५७ र धादिङका तीन घर पूर्णरुपमा क्षति
- बाढीले ४१ वटा पक्की पुल पूर्णरूपमा बगाएको छ भने थप चार वटा पुलमा क्षति
- बाढीका कारण रसुवागढी, रसुवा-भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली-२, माथिल्लो त्रिशूली-१, मैलुङ खोला, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायतका जलविद्युत् आयोजनामा क्षति
काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी पाँच जिल्लाका एक हजार २५३ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ। भदौ १० गतेको बाढीको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गर्दै भवन विकास तथा निर्माण विभागले सो जानकारी दिएको हो। सोही बाढीले छ हजार ३१७ घरमा आंशिक क्षति पुगेको विभागले जनाएको छ।
विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भोटेकोशी बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोटमा पुगेको देखिन्छ। नुवाकोटमा ६९२ घर पूर्णरुपमा क्षति हुँदा रसुवामा ५५७ र धादिङका तीन घर पूर्णरुपमा क्षति पुगेको उल्लेख गरिएको छ। विभागका महानिर्देशक रविन्द्र बोहोराले बाढीले पाँच जिल्लामा सात हजार ५७० घरमा क्षति पुगेको बताए। ‘टिमुरेदेखि तल स्याफ्रुबेंसीसम्म पूरै बस्तीहरू क्षति भएको छ। बाढीले ४१ वटा पक्की पुल पूर्णरूपमा बगाएको छ भने थप चार वटा पुलमा क्षति पुगेको छ,’ बोहोराले भने।
स्याटेलाइट म्यापिङअनुसार भोटेकोशी-त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा चार हजार ६८९ वटा भवन जोखिममा परेका प्रतिवेदनमा उल्लेख छ। रसुवाको अतिप्रभावित गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका नागरिक छ दिनदेखि सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अनिश्चितकालका लागि बन्द छन्। उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।
नुवाकोटको टोखा-छहरे सडकखण्डको घट्टेखोलामा सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ। बेलकोटगढी-१० स्थित पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ। यो बाढीका कारण रसुवागढी, रसुवा-भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली-२, माथिल्लो त्रिशूली-१, मैलुङ खोला, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायतका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
बाढी परी टिमुरे, स्याफ्रुबेंसी, मैलुङ र बन्दरेमा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय तथा भवन पूर्ण वा आंशिकरूपमा ध्वस्त भएका छन्। नुवाकोटस्थित कृषि विकास केन्द्र र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा पनि क्षति पुगेको छ।