काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिए।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ वटा साना सवारीमार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिइएको छ। त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्याइएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित १५ पालिकालाई हालसम्म सरकारले रु छ करोड ७५ लाख नगद राहत निकासा गरेको छ। रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ।