काठमाडाैं- फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको छ । सोमबार अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शङ्कर पाण्डे, वितरक करण श्रेष्ठ लगायतले उक्त रकम प्रदान गरेका हुन् ।
शुक्रबार देशभरबाट गरेको व्यवसायको रकम सहयोग गर्ने घोषणा अनुसार उक्त रकम प्रदान गरिएको हो । फिल्मकी निर्देशक निता ढुङ्गानाले आफूले यो अकल्पनीय घटनामा परेका पीडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन् । उनले यो फिल्म चलुन्जेलको ५% बाढी पीडितलाई दिने निर्णय समेत गरेको जानकारी दिइन् । निर्माता हरिहर अधिकारले फिल्मको पहिलो दिनको कमाइको अलावा छुट्टै पनि सहयोग गरेको बताए । फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन् ।
यस फिल्मका वितरक करण श्रेष्ठले फिल्मले दोस्रो दिन शनिवार देशव्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको जानकारी दिएका छन् । निर्देशक निताकै अभिनय निर्देशन रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ ।