काठमाडौं- भोटेकोशी बाढीपछिको असहज स्थितीलाई कारण देखाउँदै फिल्म ‘ककाकिकी’ले पूर्वनिर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ। निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले वक्तव्य जारी गर्दै फिल्म १९ भदौमा रिलिज नहुने जनाएको हो।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्यसको असर मनोरञ्जन क्षेत्रका गतिविधिमा समेत देखिन थालेको छ। कन्सर्टदेखि फिल्मका प्रदर्शन मितिसम्म ‘पोस्टपोन्ड’ भइरहेका छन्। यसैक्रममा यही शुक्रबारबाट प्रदर्शन हुने भनिएको फिल्म ‘ककाकिकी’ निर्धारित मितिमा नआउने भएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस्तो अवस्थामा हाँस्ने, हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न हामीले सकेनौं र सोही कारण आउँदो भदौ १९ मा रिलिज हुने हाम्रो चलचित्रको रिलिज तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’