ललितपुर- राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ । बैंकको न्यूनतम सीमा पार गर्दै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशतको सीमाभन्दा माथि पुग्दै ११.६६ प्रतिशत कायम भएको बैंकले जनाएको हाे ।
वित्तीय विवरणअनुसार बैंकले चौथो त्रैमाससम्म करिब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा वृद्धि भई ८७ करोड रुपैयाँभन्दा बढी पुगेको बैंकले विवरणमा उल्लेख गरेको छ । वित्तीय आधार मजबुत बन्दै जाँदा बैंकको समग्र कार्यसम्पादनमा सुधार देखिएको व्यवस्थापनको भनाइ छ ।
विगतमा बैंकको प्रमुख चुनौतीका रूपमा रहेको सञ्चित नोक्सानीमा पनि उल्लेखनीय कमी आएको छ । चालु वर्षको नाफाले सञ्चित नोक्सानी घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ । सञ्चित नोक्सानी पूर्ण रूपमा अन्त्य भइनसकेकाले आगामी अवधिमा समेत नाफामार्फत त्यसलाई थप घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बैंकले जनाएको छ ।
बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा सुशासनलाई संस्थागत रूपमा अझ बलियो बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी तथा पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकको न्यूनतम सीमाभन्दा माथि पुर्याउन सफल हुनु संस्थागत सुधार यात्राका महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पूँजी आधार थप सुदृढ बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरे ।