काठमाडौं- मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । उनी नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी बनेकी हुन् ।
शनिबार ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्। हङकङमा जन्मिएकी २३ वर्षीया ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) की दोस्रो पुस्ता संयोजक हुन्। चैतमा सम्पन्न एनआरएनएको महाधिवेशनबाट उनी संयोजक चयन भएकी थिइन्।
त्यसको प्रतिनिधित्व दीपमालाले गरेकी छन् । हङकङमा हुर्किएर, उतै अध्ययन गरेकी दीपमालाको मिस नेपालको यात्रा पछाडि भने आमाले थालेको ब्यूटी पेजेन्टको विरासत लुकेको छ । उनकी आमा रोशनीले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन् । उपाधि जित्ने आमाको अधुरो सपनालाई छोरी दीपमालाले पूरा गरिदिएकी छिन् । आमाको विरासत उनको मिस नेपाल प्रतिस्पर्धासँग जोडिएको छ ।
उनको जितमा गैरआवासीय नेपाली संघले पनि उत्साहजनक प्रतिक्रिया दिएको छ । एनआरएनए उपाध्यक्ष रोजिना प्रधान दीपमालाको जितले गौरवशाली पारिवारिक इतिहासको निरन्तरता पाएको र गैरआवासीय नेपालीको ठूलो उपलब्धि रहेको प्रतिक्रिया दिएकी छन् ।
अब दीपमालासहित मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कस्मो कशिश सुब्बाले आयोजक संस्था द हिडन ट्रेजरको मातहत रहेर एकवर्ष काम गर्नुपर्ने हुन्छ । यसबाहेक, दीपमाला अर्को वर्षको मिस वल्र्डको तयारीमा जुट्नुपर्ने हुन्छ । साथै, आर्याले जापानमा हुने मिस इन्टरनेसनल र कशिशले भियतनाममा हुने मिस कस्मोको प्रतिस्पर्धामा जानुपर्ने हुन्छ ।