हामीसँग रहेका हिमालय, हरिया वनपाखा, नदी, झरना, ताल, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जात जाति आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्वसँग इच्छाशक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नकारात्मक पक्ष रहेको छ । साँच्चै सम्भावना बोकेको कर्णाली प्रदेशको विकास अन्य प्रदेशको तुलनामा हुन सकेको देखिँदैन । तसर्थ, यसप्रति राज्यपक्षको ध्यान जान सके कर्णालीको विकासले समग्रमा मुलुककै आर्थिक विकासमा टेवा पुग्नुको साथै कर्णालीको पर्यटन, जलविद्युत् र कृषिको विकाससँगै रोजगारी सिर्जनासमेत हुने छ ।
नेपाल विकासका लागि प्रचुर आधार र सम्भावना भएको मुलुक हो । यहाँको प्राकृतिक सौन्र्दयता, हिमशृंखला, नदीनाला, वनजंगल, भौगोलिक विविधताले अन्य मुलुकलाई लोभ्याइरहेको छ । यद्यपि, हाम्रा नेतृत्व वर्गले यसको महत्व बुझेर स्पष्ट योजनाका साथ अगाडि बढ्न नसकेका कारण हामी हाम्रै सम्भावनाबाट ठगिएका छौं ।
बहुदल, गणतन्त्र, लोकतन्त्र आएपछि मात्र विकासको सम्भव देखेका हाम्रा दलीय नेतृत्व वर्ग आन्दोलनमा पटक-पटक सफल देखिए पनि विकासमा सफल सावित हुन भने सकेका छैनन् । हरेक आन्दोलनमा एकताबद्ध भएर अगाडि बढेरै विजयी हासिल गरे । तर गणतन्त्र स्थापना भइसकेपछि संविधान कार्यान्वयन र विकास निर्माणको सवालमा एक जुट भएको अनुभूति नेपाली जनताले गर्न सकेका छैनन् ।

अव प्रसंग बदलौं, यो पटक गत असारमा दुई हप्ता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी १६ वटा जिल्लाका महत्वपूर्ण ठाउँहरु घुम्ने, वस्तुस्थिति बुझ्ने अवसर मिल्यो । मैले यहाँ खासगरी कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्लालगायतका जिल्ला घुम्दा देखेका केही महत्वपूर्ण सम्भावना, समस्या र गर्न सकिने आधारकाबारे चर्चा गर्ने प्रयास गरेको छु ।
इतिहास हेर्दा कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो । खस राज्यको राजधानी सिञ्जा नेपाली भाषा संस्कृतिको उद्गमस्थलका रुपमा चिनिन्छ । यो राज्य १३औं शताब्दीमा पूर्व गोर्खा, पश्चिम काश्मीरको लद्धाक, उत्तरमा भोटको गुगे र दक्षिणमा लखनाउको गोमती नदीसम्म पुगेको थियो । कर्णाली नदी आसपास हुँदै चीनको गुगे बराङ्बाट हुम्ला, जुम्ला, दुल्लु, सुर्खेतहुँदै दक्षिणमा भारतसम्म आवतजावत व्यापारिक रेशममार्गले अर्थ वाणिज्य क्षेत्रमा ख्याती प्राप्तगरी समृद्धि हासिल गरेको थियो । वि.सं. १८४६ मा जुम्ला राज्य नेपाल एकीकरणमा गाभिएपछि केन्द्रीयसत्ताबाट ओझेलमा पर्न गई कर्णाली क्षेत्र आर्थिक, सामाजिकरुपमा पछि परेको भनाइ पाइन्छ । पर्याप्त सम्भावना भएको क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश अहिले धेरै क्षेत्रमा पछि परेको छ ।
हामीले कर्णाली प्रदेशको सम्भावना बोकेको कर्णाली नदीबाट थुप्रै ठाउँमा जलविद्युत् उत्पादन र सिचाइँका लागि प्रयोग गर्न सकिन्छ । हिमशिखर पग्लिएर बनेको स्थायी स्रोतको यो हुम्ला, जुम्ला, मुगुलगायत कर्णालीका विभिन्न ठाउँ र्याफ्टिङका लागिसमेत प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने राम्रो सम्भावना छ । त्यतिमात्र होइन, यहाँका उर्वर र उजाड भूमिलाई सिञ्चित गरेर उत्पादन बढाउन सकिन्छ । कर्णाली संस्कृतिमामात्र होइन, प्रकृतिमा पनि धनी छ ।
मुगुको रारा, हुम्लाको लिमी लाप्चा लुकेको उपत्यका, उच्च हिमशिखर, हिमताल पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छन् । पछल्लिो समय चीनसँग जोडिएको लिमी लाप्चा त कैलाश मानसरोवर दर्शन गर्ने स्थलको रुपमा विकास भएको छ । उता दैलेखको ग्यासखानी र पेट्रोलियम पदार्थको खानी उत्खनन गर्न सके त्यसबाट पनि थुप्रै रोजगार सिर्जना हुनुका साथैै आर्थिक विकासमा ठूलो फड्को मार्न सक्दछ । राज्यलाई ५० वर्षसम्म पेट्रोलियम पदार्थको आवश्यकता परिपूर्ति गर्न सकिने अनुसन्धानबाट पत्ता लागेको छ ।
हामी भाषणमा विकास, एकता र समृद्धिका ठूला कुरा गर्छाै तर व्यवहारमा हाम्रा सम्भावनालाई स्पष्ट योजना बनाएर प्रयोगमा ल्याउन पटक्कै सकेको देखिँदैन । हामीमा अहिले पनि विश्व परिवेश हेरेर विकासमा अगाडि बढौं भन्नुभन्दा पनि राजनीतिमै अस्वस्थरुपमा तँछाड-मछाड गरिरहेको अवस्था छ ।
उता हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चा पर्यटकीय आकर्षणको क्षेत्र हो । यो उपत्यकामा विभिन्न हिमाल, हिमताल, जंगली घोडा, चराचुरुंगी, चौँरी, भेँडा चरेका दृश्यले पर्यटकलाई आकर्षित गर्दछ । करिब पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको यो ठाउँ चीनसँगको सिमाना नजिक पर्दछ । र, यहाँबाट पवित्र कैलाश पर्वत र मानसरोवर तालको स्पष्ट दर्शन गर्न सकिन्छ । सदरमुकाम सिमकोटबाट मोटरबाटो हुँदै यो ठाउँ पुग्न सकिन्छ । लाप्चाबाट मानसरोवर दर्शन गर्न पासपोर्ट र भिसा आवश्यक नपर्ने भएकाले पछिल्लो समय यहाँ पुग्नेको संख्या बढ्दो छ । जुन ठाउँ पुग्न सिमकोटबाट हल्का सवारीसाधनमा आठदेखि नौ घण्टा लाग्दछ । विकट हिमाली क्षेत्र यो ठाउँमा फोन सम्पर्क हुँदैन भनी यहाँ पर्यटकीय आधारभूत कुराहरु पनि छैन । यो ठाउँप्रति राज्यको ध्यान जान सक्ने हो भनी पर्यटन विकासमा राम्रो टेवा पुग्ने र आर्थिक लाभ लिन सकिन्छ ।
यद्यपि, नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न सकेको देखिँदैन । राज्य हाँक्नेहरुको स्पष्ट योजना, दूर दृष्टि, दृढ इच्छाशक्तिको कमीले दक्ष जनशक्ति विदेश पलायन भइरहेको छ । हुन त यतिखेर नेपाली सबैमा एउटै चिन्ता छ- मुलुकमा सम्भावना भएर पनि विकास हुन सकेन । जबसम्म अति राजनीतिकरणको स्वार्थ त्यागेर हामीले नेपालमै केही गर्नुपर्दछ भन्ने भावनामा गोलबन्द हुन सक्दैनौं, तबसम्म मुलुकको विकासले काँचुली फेर्न सक्दैन । देश विकास र परिवर्तनका लागि संविधान संशोधन गरेर अगाडि बढ्न जरुरी छ ।
नेपालको विकास भाषणमा त धेरै भयो तर हाम्रा नेता जिम्मेवार भएर त्याग देखाउन सकिरहेको देखिँदैन । कुरा सिंगापुर, मलेसिया स्विटजरल्याण्डमा भएको विकासको सपना बाँडेको देखिन्छ । यथार्थमा जनताले अनुभूति गर्ने युवापिडीले खोजेको, विश्व परिवेशको विकासको छनक देखिएको छैन ।
तत्काल गर्नुपर्ने काम
नेपाल प्रशस्त प्राकृतिक साधन स्रोत भएर पनि विकासमा निकै पछाडि परेको छ । कर्णाली क्षेत्रको वनजंगल, जडीबुटी, हिमशृंखला, जलसम्पदा, कला संस्कृति, जडीबुटी, जीवजन्तु, चराचुरुंगी नै यहाँका अपार सम्पत्ति हुन् । तर यो क्षेत्र घुम्दा प्रजातन्त्रको पुनःस्थापना भएको पनि झण्डै चार दशक पुग्न लाग्दा पनि राज्यको स्पष्ट नीति नियम बनाउन नसक्नुले नै कर्णाली ठगिएका अनुभूति हुन्छ ।
सरकार र जनप्रतिनिधिहरु विकास निर्माणप्रति दृढ संकल्पका साथ अगाडि नबढ््नुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । विकास निर्माणका कार्य लामो समयदेखि संघीय राजधानी काठमाडौंदेखि सातै प्रदेशका ठाउँ-ठाउँमा अलपत्र र अस्तव्यस्त छन् । कतिपय राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र बनेका छन् । गत वर्षको भदौमामात्र हुम्ला सदरमुकाम सिमिकोटसँग कच्ची मोटरबाटो जोडिएको हो, जहाँ पुग्न निकै कष्टकर यात्रा गर्नु पर्दछ । यद्यपि, यो क्षेत्र पुग्न दुई लेनकोमात्र सडक सुविधा बन्ने हो भने यहाँ पर्यटन विकासमा ठूलो फड्को मार्न सक्दछ । यहाँका स्याउ, गेडागुडी, जडीबुटीलगायत अर्गानिक कृषि उत्पादनले सहरबजारमा पहिचानसँगै बजार भाउ राम्रो पाउन सक्दछ ।
कतिपय विकसित देशमा त्यहाँका नेता जनता वास्तवमै नियम कानुन र सिस्टममा हिँडेका कारणले विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेण्डा भन्ने भनाइ त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका सवालमा झगडा हुँदैन, व्यक्तिगत स्वार्थ, सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरु धेरै टाढा भएको अनुभव गर्न सकिन्छ । तसर्थ, सम्भावना बोकेको कर्णाली प्रदेशको साँच्चिकै विकास चाहने हो भने राज्यले निःस्वार्थरुपमा त्यो क्षेत्रको विकासका लागि सडक, पर्यटन पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा मन खोलेर बजेट विनियोजन गर्न आवश्यक छ ।
पहिले उजाड मरुभूमि भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भूमि सिंगापुर साँच्चै शून्यबाट सुरू भई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्दर्भमा हेर्दा हामीसँग सिंगापुरकोजस्तै विकास गर्न सकिने अपार सम्भावना छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, नदी, झरना, ताल, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जात जाति आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्वसँग इच्छाशक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नकारात्मक पक्ष रहेको छ । साँच्चै सम्भावना बोकेको कर्णाली प्रदेशको विकास अन्य प्रदेशको तुलनामा हुन सकेको देखिँदैन । तसर्थ, यसप्रति राज्यपक्षको ध्यान जान सके कर्णालीको विकासले समग्रमा मुलुककै आर्थिक विकासमा टेवा पुग्नुको साथै कर्णालीको पर्यटन, जलविद्युत् र कृषिको विकाससँगै रोजगारी सिर्जनासमेत हुने छ ।