लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) माथिको बढ्दाे दबाब कम गर्न देशको सामाजिक स्याहार प्रणालीमा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार सम्हालेको एक सातापछि बीबीसीसँगको अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक पूँजीको प्रमुख हिस्सा यही सुधारमा केन्द्रित गर्ने बताएका हुन् ।
बर्नह्यामले आफूले पदमा रहँदासम्म सामाजिक स्याहार क्षेत्रमा अर्थपूर्ण परिवर्तन नगरी सरकारबाट बाहिरिन नचाहेको स्पष्ट पारे । उनका अनुसार सुधार कार्य सकेसम्म छिटो अघि बढाइने भए पनि नयाँ प्रणाली कार्यान्वयन गर्न समय लाग्नेछ । बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवा सार्वजनिक कोषबाट सञ्चालन हुने र उपचार निःशुल्क उपलब्ध हुने व्यवस्था भए पनि वृद्ध तथा अशक्त नागरिकका लागि सामाजिक स्याहार सेवा भने मुख्यतः निजी क्षेत्रमार्फत सञ्चालन हुँदै आएको छ । स्थानीय निकायले सेवा व्यवस्थापन गरे पनि बढ्दो वृद्ध जनसङ्ख्या र सीमित स्रोतका कारण सेवा प्रणाली दबाबमा परेको छ ।
सामाजिक स्याहारको अभावका कारण अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने धेरै वृद्ध तथा आश्रित बिरामी लामो समयसम्म अस्पतालमै बस्न बाध्य हुने गरेका छन् । यसले एनएचएसमा शय्या अभाव र कर्मचारीमाथिको कार्यबोझ थप बढाएको विश्लेषण गरिएको छ । बर्नह्यामले सन् २००९-१० मा तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनको सरकारमा स्वास्थ्यमन्त्री रहँदा एनएचएससरह निःशुल्क राष्ट्रिय स्याहार सेवा स्थापना गर्ने प्रस्ताव अघि सारेका थिए । यद्यपि त्यो योजना कार्यान्वयन हुन सकेको थिएन । उनका बुबा अल्जाइमर रोगबाट पीडित रहेकाले सामाजिक स्याहार सुधारप्रति आफू लामो समयदेखि प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री बर्नह्यामले बढ्दो सामाजिक सुरक्षा तथा कल्याण खर्च नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले काम गर्न सक्ने व्यक्तिलाई रोजगारीतर्फ फर्काउन सामाजिक सहायता प्राप्त गर्ने मापदण्डलाई थप उत्तरदायी बनाउने संकेत गर्दै उपलब्ध अवसरको उपयोग गर्नेहरूसँग सहायता प्रणालीलाई जोड्नुपर्ने धारणा व्यक्त गरे । यसअघि पूर्वप्रधानमन्त्री किर स्टारमरले पनि कल्याणकारी प्रणालीमा सुधार गर्ने प्रयास गरेका थिए । तर आफ्नै दलभित्रको विरोधका कारण प्रस्तावित सुधारका केही योजना परिमार्जन गरेका थिए ।