माले- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन सदस्य राष्ट्रहरूलाई संवादमार्फत मतभेद अन्त्य गरी सहकार्यको नयाँ चरण सुरु गर्न आह्वान गरेका छन् । उनले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि आवश्यक परे माल्दिभ्स मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताएका हुन् ।
माल्दिभ्सको ६१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुइजुले सार्कभित्र देखिएको लामो समयदेखिको गतिरोध अन्त्य गर्न वार्ता नै एकमात्र प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनले सदस्य राष्ट्रहरूलाई क्षेत्रीय हितलाई प्राथमिकतामा राख्दै पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरे ।
समारोहमा ४३ देश तथा अन्तर्राष्ट्रिय संस्थाका ११३ कूटनीतिज्ञ सहभागी थिए । राष्ट्रपति मुइजुले आफ्नो सम्बोधनमा माल्दिभ्सको विदेश नीतिबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई पनि सबै प्रकारका विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्न आग्रह गरे।
यसैबीच, बङ्गलादेशले पनि यसै महिनाको सुरुमा सार्कलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । बङ्गलादेशकी विदेश मामिला राज्यमन्त्री शमा ओबेदले सङ्गठनलाई प्रभावकारी बनाउन कार्यान्वयन क्षमता, वित्तीय स्रोत, विशेष संयन्त्र र नियमित अनुगमन प्रणाली सुदृढ गर्नुपर्ने बताएका थिए।
उनले सदस्य राष्ट्रहरूसँग परामर्शपछि वरिष्ठ अधिकारीहरूको बैठक तथा सार्क मन्त्रिपरिषद्को विशेष अधिवेशन बोलाउने सम्भावनाबारे पनि छलफल भइरहेको जानकारी दिएका थिए। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य रहेको सार्क दक्षिण एसियामा आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र विकास प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो । तर पछिल्ला वर्षहरूमा भारत-पाकिस्तानबीचको तनाव तथा सीमापार आतङ्कवादसँग सम्बन्धित विवादका कारण यसको गतिविधि प्रभावहीन बन्दै गएको छ ।