दुबई- अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ । यसैबीच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसंघको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।
अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ । अमेरिकी पक्षका अनुसार जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले ती कारबाही गरिएको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी क्षेप्यास्त्रले इराक सीमास्थित अहवाज, बन्दर अब्बास र ओमिदियाह क्षेत्रमा विस्फोट गराएको जनाएका छन् । तस्निम समाचार संस्थाले हर्मुज जलघाँटीस्थित केशम टापुको सुजा क्षेत्रनजिक पनि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाले नियन्त्रणमा राखेका इरानी सम्पत्तिबाट अमेरिकी जहाज, मालवाहक तथा सम्बन्धित सम्पत्तिमा भएको क्षतिको भरपाई असुल्ने चेतावनी दिएका थिए। त्यसप्रति प्रतिक्रिया जनाउँदै तेहरानले उक्त अभिव्यक्तिलाई भड्काउने प्रकृतिको उदाहरण भएको जनाएको छ । क्षेत्रीय तनावका बीच कुवेतले पनि इरानतर्फबाट आएको भन्दै मिसाइल र ड्रोन आक्रमण अवरोध गरेको जनाएको छ । इराक सीमास्थित क्षेत्रमा नयाँ ड्रोन आक्रमणको खबर आएको केही घण्टापछि कुवेती हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो । कुवेती सेनाका अनुसार शत्रुतापूर्ण मिसाइल र ड्रोनहरूलाई रोकेर निष्क्रिय पारिएको छ ।

अमेरिकी आन्तरिक राजनीतिमा पनि इरान नीति विवादको विषय बनेको छ । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही रोक्न आग्रह गर्दै प्रतीकात्मक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा अमेरिकी कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना इरानविरुद्ध युद्धसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गरिएको छ । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्यांकरमाथि आक्रमण जारी राखेपछि युरोपेली मुलुकहरूले त्यसको कडा आलोचना गरेका छन् । जर्मनीले यसले द्वन्द्व अझ बढाउने चेतावनी दिएको छ भने बेलायतले हुथीहरूको कदमलाई लापरवाहपूर्ण भनेको छ । युरोपेली संघ (इयु) की शीर्ष कूटनीतिज्ञ काजा कालासले ती आक्रमण अस्वीकार्य र अवैध भएको बताएका छन् ।
हुथी आक्रमणपछि राष्ट्रपति ट्रम्पले विद्रोही समूहलाई थप आक्रमण गरे ठूलो सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन । उनले हुथीहरूलाई इरानको प्रतिनिधि समूह भन्दै त्यसको जिम्मेवारी इरानले पनि वहन गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको अवस्था नियन्त्रणबाहिर जान थालेको चेतावनी दिएका छन । उनले विश्व अहिले अत्यन्तै खतरनाक मोडमा पुगेको उल्लेख गर्दै तत्काल तनाव कम गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
युद्धको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिएको छ । लाल सागरमा तेल ट्यांकरमाथिको आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ७.६ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९३.४४ अमेरिकी डलर पुगेको छ । यसैबीच बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इरानमा रहेका आफ्ना बाँकी कूटनीतिक कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ । बेलायती विदेश मन्त्रालयले तेहरानस्थित दूतावासले अहिले टाढाबाट सेवा सञ्चालन गरिरहेको जनाएको छ ।