जाकार्ता- पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुंगाका पाँच यात्रुलाई तीन दिनसम्म समुद्रमा तैरिएपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सात वर्षीया बालिका समेत रहेको उद्धार अधिकारीले आइतबार जानकारी दिएका छन् ।
सत्तरी जनाभन्दा बढी यात्रु बोकेको उक्त डुंगा बुधबार सुलावेसी टापुको दक्षिणमा रहेको सेलायार टापु नजिकै डुबेको थियो ।उद्धार गरिएका यात्रुले आफूहरू सुरुमा हराइरहेको भनिएको २५ जनाको समूहमा रहेको बताएका छन् । तर तीव्र हावाका कारण उनीहरू अन्य यात्रुबाट छुट्टिएका थिए ।
स्थानीय खोज तथा उद्धार अधिकारी मुहम्मद आरिफ अनवरका अनुसार डुंगा डुबेपछि उनीहरूले तैरिन सकिने सामग्रीको सहायताले आफूलाई बचाएका थिए ।“उनीहरूले प्लास्टिकका ठूला डिब्बा (जेरी क्यान) र कर्कका टुक्रालाई डोरीले बाँधेर अस्थायी तैरिने साधन बनाए र त्यसैमा बसे,” उनले एएफपीलाई बताए ।
शनिबार दिउँसो स्थानीय माछा मार्नेहरूले उनीहरूलाई उद्धार गरी रेडियोमार्फत अधिकारीलाई जानकारी गराएका थिए ।धेरै दिनसम्म पर्याप्त खाना र पानीबिना समुद्रमा रहनुपरेकाले उनीहरू कमजोर र थकित अवस्थामा भेटिएका थिए । यद्यपि, इन्स्ट्यान्ट चाउचाउ र बिस्कुट खाएर आफूलाई जीवित राख्न सफल भएको आरिफले बताए ।
हराइरहेका अन्य यात्रुको खोजी जारी रहेको छ । खोजी अभियानमा पाँचवटा ठूला जहाज, एउटा निगरानी विमान र एउटा हेलिकप्टर परिचालन गरिएको छ ।उद्धार अधिकारीका अनुसार डुंगाको आधिकारिक यात्रु सूचीमा ५० जनाको नाम भए पनि थप अनुसन्धानपछि डुंगामा ७८ जना सवार रहेको खुलेको छ ।
इन्डोनेसियामा डुंगाको आधिकारिक यात्रु विवरण र वास्तविक यात्रुको सङ्ख्याबीच फरक पर्नु सामान्य मानिन्छ । कमजोर सुरक्षा मापदण्ड र खराब मौसमका कारण यहाँ जलयात्रासम्बन्धी दुर्घटना भइरहन्छन् । यसअघि जनवरीमा पूर्वी इन्डोनेसियाको समुद्रमा डुंगा दुर्घटना हुँदा तीन जना स्पेनी पर्यटकको मृत्यु भएको थियो भने एक बालक बेपत्ता भएका थिए ।