मस्को- युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यमार्फत जापानले रुसी नागरिकको हत्यामा सहयोग पुर्याएको आरोप लगाउँदै रुसी उपविदेशमन्त्री एन्ड्रे रुडेन्कोले शनिबार जापानी कदमको निन्दा गरेका छन् ।
रुसी समाचार संस्था टाससँगको अन्तर्वार्तामा रुडेन्कोले युक्रेनले रुसी भू-भागमा नागरिक लक्ष्यविरुद्ध व्यवस्थित आतंकवादी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै किएभसँग जापानको यस्तो सहकार्यलाई खुला रूपमा शत्रुतापूर्ण कार्यका रूपमा लिएको बताए । “युक्रेनी ड्रोनले रुसी नागरिकलाई मारिरहेका छन् र टोकियोले उनीहरूलाई त्यसो गर्न सहयोग गरिरहेको छ,” उनले भने ।
रुडेन्कोले रुस-युक्रेन द्वन्द्वमा जापानको बढ्दो सङ्लग्नताले यसअघि नै तनावपूर्ण अवस्थामा रहेको रुस-जापान सम्बन्धलाई थप कमजोर बनाइरहेको दाबी गरे ।उनले जापानको युक्रेनसम्बन्धी नीतिले दुई देशबीचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्ने चेतावनीसमेत दिए।