काठमाडौं - फिफा विश्वकप–२०२६ को समापन समारोहमा चार कलाकारले प्रस्तुति दिने भएका छन् । विश्व फुटबल महासंघ ,फिफाले बुधबार कलाकारको प्रस्तुतिबारे जानकारी दिएको हो ।
फिफाका अनुसार, समारोह फाइनलअघि हुनेछ । सोही अवसरमा लौरा पउसिनी, निकोल स्केर्जिन्जर, रोबी विलियम्स र आइएसओ स्पीडले प्रस्तुति दिने भएका हुन् । उनीहरूसँगै समारोहमा टम क्रुसको पनि विशेष उपस्थिति रहने बताइएको छ ।उक्त समारोहले विश्वकपमा सहभागी ४८ राष्ट्रले प्रदर्शन गरेका खेलहरू र तय गरेका स्मरणीय समीकरणहरूलाई उत्सवको रुप दिने जनाइएको छ ।
“क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा सुरु भएको फुटबलको सबैभन्दा ठूलो मञ्चको उद्घाटन समारोहको भावनालाई प्रतिध्वनित गर्दै, समापन समारोहले संगीत, संस्कृति र फुटबलको माध्यमबाट फिफा विश्वकप २०२६ लाई पूर्ण बनाउनेछ । यसपछि हामी यो अभूतपूर्व प्रतियोगिताको च्याम्पियनको टुंगो लगाउने बहुप्रतिक्षित खेलको सुरुआत गर्नेछौँ,” फिफा विश्वकप २०२६ का प्रमुख सञ्चालन अधिकृत हेइमो शर्गीले भने । अमेरिका, क्यानडा र मेक्सिकोको आयोजनामा जारी यो २३औँ संस्करणको फाइनल आउँदो जुलाई १९ (आइतबार) हुने तालिका छ ।