एजेन्सी - बंगलादेशमा शिक्षा मन्त्रीको राजीनामा माग गर्दै ठूलो संख्यामा विद्यार्थीहरू सडकमा उत्रिएका छन् । देशमा भीषण बाढी आएको अवस्थामा पनि सरकारले विद्यालय बोर्डको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका हुन् ।
शिक्षा मन्त्री एएनएम एहसानुल हक मिलनले एचएससी परीक्षार्थीहरूबारे आफूले गरेको व्यक्तिगत टिप्पणीबाट कसैको भावना आहत भएको भए त्यसप्रति दुःख व्यक्त गरेका छन् । प्रदर्शनकारीहरूले शिक्षा मन्त्रीले एचएससी परीक्षार्थीहरूलाई ‘फार्मका कुखुरा’ भनेर सम्बोधन गरेको आरोप लगाएका छन् ।
ढाका विश्वविद्यालय अगाडि सुरु भएको प्रदर्शन छिट्टै साभार, बरिशाल, कुमिल्ला, नारायणगञ्ज, जेसोर र बोगुरालगायतका सहरहरूमा फैलिएको छ । बाढी र लगातारको वर्षाका बीच परीक्षा सञ्चालन गरिएको विषयमा चिन्तासँगै, प्रदर्शनकारीहरूले विभिन्न प्रश्नपत्रमा भएको भनिएको त्रुटिप्रति पनि असन्तुष्टि जनाएका छन् ।