सिन्ह्वा- संयुक्त राज्य अमेरिकाले बारम्बार गरेका आक्रमणकारी कार्यहरू संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको बिरुद्धमा भएको भन्दै इरानले कडा शब्दहरूमा निन्दा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र जुलाईका लागि सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधन गरेर लेखिएकोे पत्रमा संयुक्त राष्ट्र संघका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले अमेरिकाले दक्षिणी इरानका प्रतिष्ठानहरूमा पुनः ठूलो मात्रामा सैन्य आक्रमण गरेको बताएका छन् ।
निरन्तर भएका इरान विरोधी आक्रमणका कार्यहरू संयुक्त राष्ट्रको बडापत्रको धारा- २ (४) र इस्लामाबाद समझौताको अनुच्छेद-१ को विरुद्ध भएको उनले प्रष्ट पारेका छन् ।
नागरिक सुविधाहरूलाई जानाजानी लक्षित गरी आक्रमण गर्नुका साथै इरान विरुद्ध सैन्य बलको निरन्तर गैरकानुनी प्रयोगले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको विषयमा जोड दिदै उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूको पूर्ण अवहेलना गरेको बताएका छन् ।
अमेरिकाले आफ्नो गैरकानुनी बल प्रयोगबाट उत्पन्न हुने सबै परिणामहरूको पूर्ण जिम्मेवारी वहन गर्नु पर्नेसमेत इरवानीले बताएका छन् ।