काठमाडाैं - स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ। रुबेन भार्गासले निर्णायक पेनाल्टी गोल गरेपछि स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जितसँगै स्विट्जरल्यान्डले सात दशकभन्दा लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
निर्णायक पेनाल्टीमा रुबेन भार्गासले सहज गोल गरे। त्यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेको थियो भने कुचो हर्नान्डेजको पेनाल्टी स्विस गोलकिपर ग्रेगर कोबेलले रोकेका थिए।
खेलअघि नै स्विट्जरल्यान्डलाई ठूलो झट्का लागेको थियो। टोलीका उदीयमान स्टार जोहान मान्जाम्बी घुँडाको चोटका कारण खेल्न सकेनन्। पहिलो हाफमा कोलम्बियाले खेलमा पकड बनाए पनि स्पष्ट गोल गर्ने अवसर सिर्जना गर्न सकेन।
गुस्ताभो पुर्टाको बक्सबाहिरबाट आएको आकर्षक प्रहारलाई कोबेलले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफमा पनि दुवै टोलीले गोलका स्पष्ट अवसर बनाउन सकेनन्। कोलम्बियाका लुइस सुआरेजले राम्रो अवसर खेर फाले भने स्विट्जरल्यान्डका फाबियन रिडरको भली प्रहारलाई कामिलो भार्गासले बचाए।
अतिरिक्त समयमा खेल थप रोमाञ्चक बन्यो। कोलम्बियाका झोन लुकुमीको हेडर क्रसबारमा लाग्यो। स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जेकी आमडौनीको प्रहार कामिलो भार्गासले रोके भने जामिन्टन काम्पाजले सुनौलो अवसर गुमाए।
अन्ततः खेल पेनाल्टी सुटआउटमा पुग्यो। त्यहाँ स्विट्जरल्यान्डले ४–३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो। अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो।
योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ। फ्रान्स र मोरक्को , स्पेन र बेल्जियम तथा इङ्ल्यान्ड र नर्वेबीच क्वाटरफाइनल खेल हुनेछ।