एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अस्ट्रेलिया भ्रमणअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ज्यान मार्ने धम्की दिइएको घटना सार्वजनिक भएको छ । जुलाई ९ मा मेलबर्नको मार्भल स्टेडियममा हुने ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रममा सम्बन्धित फेसबुक पोस्टको कमेन्टमा धम्कीपूर्ण सन्देश राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द अस्ट्रेलिया टुडेले जनाएको हो ।
‘अबु मुस्तफा’ नामको फेसबुक अकाउन्टबाट गरिएको कमेन्टमा कार्यक्रमका क्रममा प्रधानमन्त्री मोदीको ज्यान जोखिममा पर्ने संकेत गरिएको छ । घटनापछि अस्ट्रेलियाली सङ्घीय प्रहरीसहितका सुरक्षा निकायहरूले अनुसन्धान तीव्र पारेका छन् । सुरक्षा स्रोतका अनुसार धम्की दिने फेसबुक अकाउन्टको आईपी एड्रेस ट्र्याक गरिएको छ भने यसमा संलग्न व्यक्ति वा समूहको खोजी भइरहेको छ । हालसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन।
अस्ट्रेलियाली सङ्घीय प्रहरीले विदेशी सरकार प्रमुखमाथि आउने यस्ता धम्कीलाई अत्यन्तै गम्भीर रूपमा लिइने जनाएको छ । त्यससँगै प्रधानमन्त्री मोदीको भ्रमणलाई लक्षित गर्दै मेलबर्न, सिड्नीलगायतका कार्यक्रममा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको निमन्त्रणामा जुलाई ८ देखि १० सम्म हुने अस्ट्रेलिया–भारत वार्षिक नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन अस्ट्रेलिया जाँदैछन् ।
भ्रमणका क्रममा रणनीतिक साझेदारी, व्यापार तथा रक्षा सहकार्यका विषयमा महत्वपूर्ण छलफल र सम्झौताहरू हुने अपेक्षा गरिएको छ ।