एजेन्सी - इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका हुन् ।
उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका छन् । इरानका उपविदेशमन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबाबादीले पनि यस हप्ता कुनै बैठक तय नभएको बताएका छन् ।
यी प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पले इरानकै अनुरोधमा जुन ३० (मंगलबार) दोहामा अमेरिकी र इरानी प्रतिनिधिबीच भेटवार्ता हुने दाबी गरेपछि आएका हुन् । क्यारोलिन लेभिटका अनुसार, ट्रम्पका विशेष प्रतिनिधि स्टीभ विटकोफ र जारेड कुशनर उक्त बैठकमा सहभागी हुने बताइएको थियो ।