काठमाडौं आएको १० दिनमा धेरै म्यानपावरमा गइयो । म्यानपावर डुल्दाडुल्दा खुट्टा–टाउको दुखिसक्यो । पाँच लाखभन्दा काम हुँदैन भन्छ । गरिबलाई यो जिन्दगी बाँच्नै बेकार छ ।
हुसेन राय यादव
रौतहट
- म्यानपावरले धेरै रकम माग्दा श्रमिक झन् पीडामा
काठमाडौं- खेती किसानी गर्ने रौतहटका हुसेन राय यादवले आफ्ना दुई छोरालाई वैदेशिक रोजगारीमा पठाउने निधो गरे । दुई जनाले विदेश गएर कमाए परिवारको आर्थिक स्थिति राम्रो हुने सपना हुसेनले देखेका थिए । त्यसका लागि गाउँकै चिनजानको व्यक्तिले झापाका एजेण्टसँग सम्पर्क गराइदिए । दिपेश परियार नाम गरेका एजेण्टले प्रतिव्यक्ति दुई लाख रुपैयाँमा मलेसिया पठाइदिने भनेपछि उनीमार्फत पठाउन हुसेन तयार भए । भिसा नै नआई पैसा मागेका ती एजेण्ट उडानका लागि भनेर तोकिएको मितिमा सम्पर्कविहीन भएपछि हुसेनलाई ठगिएको थाहा भयो ।
‘फ्लाइटको दिन पैसा हाल्छु भन्दा नहाले काम हुँदैन भनेपछि दिनैप¥यो । भिसा आएको प्रमाण माग्दा दिन मिल्दैन, कसैले समात्यो भने म्यानपावरले एक करोड तिर्नपर्छ, हामी पनि जेल जानुपर्छ भन्यो,’ उनले भने, ‘एजेण्टले दिएको टिकट साइबरमा देखाउँदा ठीक छ भनेको थियो । तर फ्लाइटको दिन मोबाइल स्वीच अफ ग¥यो । सबै सपना बेकार भयो ।’ हुसेनका छोराहरुसँगै मलेसिया उड्न आएका रौतहटका तब्रेज खान, मझेरी आलम, श्यामबाबु दास र अशोक दास यतिबेला वैदेशिक रोजगार विभागमा धाइरहेका छन् । उनीहरुलाई असार १ गते बिहान ९ः२५ को उडान भनिएको थियो । उनीहरुसहित सोही गाउँका ३५ जनाबाट गत वैशाखमा दिपेशले पैसा उठाएका थिए ।

पीडित युवाहरुलाई सामाखुसीमा रहेको स्पेस एचआर सोलुसन प्रालि नामको म्यानपावरबाट पठाउने भनिएको थियो । एजेण्टले मलेसियाको पञ्जा कम्पनीमा काम लगाइदिने भनेको पीडित बताउँछन् । दिपेशले आफ्नी पत्नी बताउने शर्मिला परियार नाम गरेकी महिलाको नबिल बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाएका थिए । अहिले शर्मिला पनि सम्पर्कमा छैनन् । उनी कुवेतमा रहेको खबर पाएको पीडित युवाहरु बताउँछन् । मुद्दाको प्रक्रिया थालेका हुसेन आखिर ऋण लागिहाल्यो अब फेरि पासपोर्ट बनाएर छोराहरुलाई म्यानपावरमार्फत विदेश पठाउँछु भन्ने सोचमा छन् । त्यसका लागि एउटा म्यानपावरबाट अन्तरवार्ता दिँदा छोराहरु पास भए । तर, म्यानपावरले पाँच लाख लाग्छ भनेपछि हुसेनले १० लाख रुपैयाँ ऋण काढ्ने आँट गर्न सकेनन् । अरु म्यानपावरले सस्तोमा पठाइदिन्छन् कि भनेर बुझ्दाबुझ्दा थाकिसकेको उनले गुनासो गरे ।
‘धेरै म्यानपावरमा गइयो । एक जनाको पाँच लाख भन्छ । हिजो महांकालको म्यानपावर गएको पाँच लाख भन्यो । सिनामंगलमा पनि पाँच लाख भन्यो,’ उनले भने, ‘काठमाडौं आएको १० दिनभन्दा बढी भइसक्यो । म्यानपावर डुल्दाडुल्दा खुट्टा, टाउको सबै दुखिसक्यो । पाँच लाखभन्दा काम हुँदैन भन्छ । गरिबलाई यो जिन्दगी बाँच्नै बेकार छ ।’ चिनजानको व्यक्तिलाई विश्वास गर्दा ठगीमा परेका रौतहटका पीडित जस्तै सामाजिक सञ्जालको आकर्षक विज्ञापनले ठगिएका धेरै युवाहरु विभागमा भेटिए । मुद्दा दर्ता गर्न कागजात जुटाइरहेका सात जना युवालाई ग्रिसमा रोजगारीको अवसर दिने भनेर विभिन्न मुलुक पु¥याएर फर्काइएको खुलेको छ । सामाजिक सञ्जालमा विज्ञापन देखेको भरमा प्रतिव्यक्ति सात लाख रुपैयाँ बुझाएको पीडित युवाहरुले बताए । त्यस्तै, क्यानडा जान भनेर १८ लाख रुपैयाँ बुझाएका खोटाङका अर्का युवाको पीडा पनि उस्तै थियो । उनी पनि विभागमा धाइरहेका भेटिए ।
८० प्रतिशत ठगी सामाजिक सञ्जालबाट
चालु आर्थिक २०८२/८३ को साउनदेखि जेठ महिनासम्म चार हजार ९७३ वटा व्यक्तिगत ठगीका उजुरी दर्ता भएको विभागको मुद्दा तथा अनुसन्धान शाखाले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको १२ महिनामा यस्तो मुद्दा पाँच हजार ६३२ वटा दर्ता भएका थिए । प्रत्येक दिन ३० वटासम्म मुद्दा दर्ता हुँदा करिब पाँचदेखि सात वटा मेलमिलाप हुने गरेको शाखाले जनाएको छ । पछिल्लो समय उजुरीको संख्या र न्याय निरुपणको प्रक्रियामा खासै सुधार नभएको विभागको भनाइ छ ।
मुद्दा शाखाका नायब सुब्बा उमेश बस्नेत व्यक्तिगत ठगी बढ्नुमा समाजिक सञ्जाल र जनचेतनाको कमी नै प्रमुख कारण रहेको बताउँछन् । यस्तो ठगी नियन्त्रणमा व्यक्ति स्वयं सजग हुनुपर्ने उनको भनाइ छ । ‘ठगी बढ्नुमा मुख्य समस्या सामाजिक सञ्जाल र जनचेतानाको कमी हो,’ उनले भने, ‘धेरैले पठाउने मान्छे नै नभेटी पैसा दिनुहुन्छ । यसमा दिनेव्यक्ति नै सजग हुनुपर्छ । युरोप जान खोज्नेहरुले कम्तीमा यति त बुझ्नपर्छ नि !’
सामाजिक सञ्जालबाट हुने ८० देखि ९० प्रतिशत ठगीमा १० देखि १५ प्रतिशत घटनामा सम्बन्धित व्यक्तिलाई नभेटी पैसा दिने गरेको पाइएको उनको भनाइ छ । त्यसैगरी रोजगारीमा पठाइदिन्छु भन्दै मोटो रकम असुलेर अन्य मुलुकमा लुकेर बस्नेहरु करिब १० प्रतिशत रहेको बस्नेतले बताए । उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुनै संयन्त्र नभएको विभागका अधिकारीहरु बताउँछन् ।
साथै, व्यक्तिगत ठगीमा संलग्न मुख्य गिरोहले विभिन्न सञ्जालको प्रयोग गर्दा मुख्य दोषीलाई कारबाही गर्न चुनौतीपूर्ण बनेको बस्नेतले बताए । ‘ठगी गर्ने गिरोहले धेरै वटा च्यानलको प्रयोग गर्छ । पीडितले खातामा पैसा जम्मा गरेका ८० प्रतिशत व्यक्ति ठग नै हुँदैनन्,’ उनले भने, ‘उनीहरुलाई कडा कारबाही गर्दा पनि न्यायोचित हुँदैन । दलालहरुले कमिसन दिएर सोझासाझा व्यक्तिलाई प्रयोग गरेको पाइन्छ ।’