सियोल- दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ । सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ-जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ ।
यो फैसला सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार सुनाएको हो । राष्ट्रिय समाचार संस्था योन्हापका अनुसार अदालतले पार्कलाई युन प्रशासनले सन् २०२४ मा लागू गरेको मार्सल लसँग सम्बन्धित विद्रोही गतिविधिमा सहभागी भएको निष्कर्ष निकालेको छ । पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा घोषणा गरेको मार्सल ल करिब छ घण्टामात्र कायम रहेको थियो । संसद् सदस्यहरू राष्ट्रिय सभामा पुगेर आपत्कालीन बैठकमार्फत उक्त निर्णय खारेज गरेपछि मार्सल ल अन्त्य भएको थियो । त्यस घटनापछि दक्षिण कोरिया गम्भीर राजनीतिक सकंटमा फसेको थियो ।
युनमाथि विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइएको छ र उनी हाल हिरासतमा रहँदै आजीवन कारावासको सजायविरुद्ध अपिल गरिरेका छन् । यसै महिनाको सुरुमा उत्तर कोरियातर्फ ड्रोन पठाएर राष्ट्रिय सकंट सिर्जना गर्न खोजेको आरोपमा उनलाई थप ३० वर्षको जेल सजाय सुनाइएको थियो । अभियोजन पक्षका अनुसार मार्सल ल लागू भएको प्रारम्भिक समयमा पार्कले न्याय मन्त्रालयका अधिकारीहरूको बैठक बोलाएका थिए। त्यही क्रममा सरकारविरोधी व्यक्तिहरूलाई पक्राउ गर्नुपरेमा कारागारहरूको क्षमता जाँच्नसमेत निर्देशन दिइएको थियो ।
अदालतको फैसलाअनुसार कानूनमन्त्रीको हैसियतमा उनले मार्सल ल कमान्डसँग सहकार्य गर्न निर्देशन दिनुभएको थियो र आदेश प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वासका आधारमा काम गरेका थिए। अभियोजन पक्षले पार्कका लागि २० वर्ष जेल सजाय माग गरेको थियो । उनले आफ्नो अधिकारको दुरुपयोग गर्दै कानूनलाई विद्रोहको माध्यम बनाएको र कानूनी शासनमाथि चुनौती दिएको अभियोजकहरूको तर्क थियो । साथै, उनले कुनै पश्चात्ताप नदेखाएको आरोप पनि लगाइएको थियो ।
पूर्वराष्ट्रपति युनको रातिको टेलिभिजन सम्बोधनमार्फत गरिएको मार्सल ल घोषणाले दक्षिण कोरियामा अभूतपूर्व राजनीतिक सकंट निम्त्याएको थियो । त्यसपछि देशभर विरोध प्रदर्शन भएका थिए, सेयर बजारमा गिरावट आएको थियो र अमेरिका लगायत प्रमुख सहयोगी राष्ट्रहरू पनि अप्रत्याशित रूपमा प्रभावित भएका थिए । युन प्रशासनसँग सम्बन्धित धेरै उच्च अधिकारीहरूलाई यसअघि नै विभिन्न सजाय सुनाइसकिएको छ । पूर्वप्रधानमन्त्री हान डक-सुलाई १५ वर्षको जेल सजाय दिइएको छ भने पूर्वगृहमन्त्री ली साङ-मिन नौ वर्षको जेल सजाय भोगिरहेका छन् ।
गत साता पूर्वरक्षामन्त्रीलाई विद्रोहसँग सम्बन्धित गोप्य सैन्य सूचना सार्वजनिक गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको थियो । यसैबीच पूर्वराष्ट्रपति युनकी पत्नी किम केओन ही पनि सेयर बजार हेरफेर तथा घुसखोरीसम्बन्धी मुद्दामा चार वर्षको जेल सजाय भोगिरहनुभएको छ । ती आरोपहरू भने मार्सल ल प्रकरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन् । पछिल्ला फैसलाहरूले दक्षिण कोरियामा मार्सल ल प्रकरणमा संलग्न उच्च अधिकारीहरूमाथि कानूनी कारबाही अझ कडा बन्दै गएको संकेत गरेका छन् ।