रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।बिहीबार निरीक्षणाका क्रममा बोकेको पर्सभित्र कालो प्लास्टिकमा लुकाइराखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय चन्द्रपुरमा प्राप्त विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चन्द्रपुर–६ निवासी २६ वर्षीय निराश कुमार सापकोटालाई शरीर तलासी गर्दा उनले बोकेको पर्सभित्र कालो प्लास्टिकमा लुकाइराखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद पदार्थको तौल प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको छ। सापकोटाको साथबाट नगद ३२ हजार २९० रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध बिक्री गरेको आरोपमा चन्द्रपुर-६ शान्तिनगर टोल निवासी ३० वर्षीय विकास न्यौपानेलाई पनि पक्राउ गरिएको छ। उनको साथबाट २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।