काठमाडौं- प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ।
पक्राउपर्नेमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने धरान उपमहानगरपालिका–१२ घर भएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र सोही सहकारी संस्थाका ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी छन्।
धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रही सहकारी संस्थासँग आबद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा चार वटा कम्पनीसमेत स्थापना गरी विभिन्न मितिमा पीडितको बचत गरेको रकम अपचलन तथा ठगी गरी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल-भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो।
उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।