- एसभिपी श्रमिककै हितमा रहेको राजदूतको दाबी, कार्यान्वयन गर्न व्यवसायीद्वारा अस्वीकार
काठमाडौं- नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मनिकरले स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी) अर्थात् सीप प्रमाणीकरण कार्यक्रम श्रमिककै हितमा रहेको दाबी गरेका छन् । बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीसँग भएको छलफलमा राजदूत मनिकरले उक्त दाबी गरेका हुन् ।
साउदीले बुधबारदेखि नै लागू गर्न खोजेपछि व्यवसायी विरोधमा उत्रिएका थिए । उक्त विरोधपछि सीप प्रमाणीकरण कार्यक्रम स्थगित भएको थियो । यही सन्दर्भमा बिहीबार संघका पदाधिकारीहरुले राजदूत मनिकरसँग छलफल गरेका हुन् । छलफलमा साउदी पक्षले श्रमिकको सीप प्रमाणीकरण गर्ने प्रावधान अन्य स्रोत मुलुकमा लागू भइसकेको र श्रमिकको हितमा पनि भएको बताएको संघका महासचिव हरि डाँगीले बताए । साथै, सीप प्रमाणीकरण गर्न ५० डलर (करिब १५ हजार रुपैयाँ)भन्दा बढी नलाग्ने भएकाले यसले श्रमिकमाथि ठूलो आर्थिक भार नपार्ने तर्क राखेको उनले सुनाए । यद्यपि, यस विषयमा सरकारसँग समन्वय नगरी निश्चित संस्थालाई लाभ पुग्नेगरी काम भएकाले यो स्वीकार्य नहुने महासचिव डाँगीको भनाइ छ ।
‘यो सरकारसँगको समन्वयभन्दा पनि केही व्यक्तिको वित्तीय स्वार्थपूर्तिका लागि बिटुबी सम्झौताजस्तो देखिन्छ,’ उनले भने, ‘कि नेपाल सरकारले मान्यता दिएको सबै संस्थालाई दिनप¥यो । नत्र यो त सिण्डिकेट जस्तो भयो । हामी यो कार्यान्वयन गर्न तयार छैनौं ।’ सीप प्रमाणीकरणका लागि नेपालगञ्ज, लुम्बिनी, भरतपुर, काठमाडौंलगायतका स्थानमा करिब छ–सात वटा संस्थालाई जिम्मेवारी दिने तयारी भइरहेको बुझिएको छ । साउदीको कार्य भिसा लगाउन बुधबारदेखिसीप प्रमाणीकरण अनिवार्य गरिएकाले साउदी काम रोकिएको केही व्यवसायीहरुले बताएका छन् ।