खोटाङ- खेलकुदको बजेट छानबिनकोे माग गर्दै खेलकुदसँग सम्बद्ध संघ संस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले जिल्लामा पठाएको बजेट खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको आरोप लगाउँदै छानबिनको माग गर्दै ती संस्थाका प्रतिनिधिले बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेश खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार अध्यक्ष राईले पेस्कीबापत लिएको र २० हजार रुपैयाँ मसलन्दमा खर्च भएको कार्यालय प्रमुख केसीले बताए । अन्य एक लाख ४४ हजार रुपैयाँ भने विसं २०८१ असारमा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको जनाइएको छ ।
अध्यक्ष राईले गलत मनसायले रकम निकासा नगरेको उल्लेख गर्दै पेस्कीबापत लिएको रकम तीन दिनभित्रै जम्मा गर्ने गत जेठ–३० गते बताएका थिए । अहिलेसम्म पनि फिर्ता नगरेकाले ज्ञापनत्र बुझाउनुपरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजूले बताए ।
सो अवसरमा जिल्ला अधिकारी रेखा कँडेलले रकम हिनामिना भएको बारेमा अध्ययन गरिने बताए । ज्ञापनपत्रमा नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राई, जिल्ला खेलकुद कबड्डी संघका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पर्शुराम थापा ‘आशिष’, नेपाल सितोरियो कराते संघका अध्यक्ष मिलन कसजू, जिल्ला एथ्लेटिक्स संघका उपाध्यक्ष धनिराम राई, नेपाल तेक्वान्दो संघका सचिव मोहन राई, नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई, कराते अन्तरराष्ट्रिय प्रशिक्षक मोतिचन्द्र राई, भलिबल अन्तरराष्ट्रिय प्रशिक्षक जीतेन्द्र राई, भलिबल प्रशिक्षक तथा निर्णायक मिलन राई, जिल्ला बुद्धिचाल संघ खोटाङका उपाध्यक्ष कृष्ण गुरुङ र फुटबल खेलाडी तथा निर्णायक शैलेन्द्र बजिमयले हस्ताक्षर गरे। यस वर्ष जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत गरिएको छैन ।