सिन्ह्वा- संयुक्त राज्य अमेरिका र इरान बीचको समझदारी ज्ञापनपत्र (एमओयू) मा दुबै देशका नेताहरूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेको जनाउदै पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले यसको प्रभाव तत्काल देखिन थालेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा प्रभानमन्त्री सरिफले उक्त ज्ञापन पत्रमा अमेरिका र इरानका राष्ट्रपतिहरूले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गरेका हुन्।
इस्लामाबाद एमओयूले इरानले तुरुन्तै होर्मुजको जलमार्ग पुनः खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले, संयुक्त राज्य अमेरिकाले सम्झौताको कार्यान्वयन पछि प्रारम्भिक चरणमा होर्मुज बाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गरेका छन् । सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताएका छन् ।
पाकिस्तानले सह-मध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विट्जरल्यान्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उनले पुष्टि गरेका छन् । प्रधानमन्त्री सरिफले कतारको सह-मध्यथकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानकोसमेत प्रशंसा गरेका छन् । उनले यो ज्ञापनपत्रले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गरेका छन् ।