काठमाडौं - नेपाल टेलिकमले फिफा विश्वकप २०२६ ‘टिभी प्याकेज’ र गुनासोका लागि छुट्टै सेवा सञ्चालन गरेका जनाएकाे छ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘FIFA World Cup 2026 TV Package’ उपलब्ध गराएको छ। उक्त प्याकेजसँग सम्बन्धित कुनै समस्या वा गुनासो आएमा २४सै घण्टा सोधपुछ तथा ग्राहक सेवाका लागि विशेष सम्पर्क नम्बरको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार प्याकेज खरिदका क्रममा कुनै समस्या परेमा वा गुनासो भएमा ग्राहकले १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, वैकल्पिक रूपमा ०१–५९७००१९ नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। प्राप्त गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने कम्पनीको भनाइ छ।
नेपाल टेलिकमको NTTV सेवाका सम्पूर्ण ग्राहकले ९९९ रुपैयाँमा विश्वकप प्याकेज खरिद गरी प्रतियोगिताका प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। यस्तै, वार्षिक १०० Mbps वा सोभन्दा माथिको ‘Internet with Premium IPTV Package’ नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० Mbps भन्दा कम क्षमताको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकले उक्त विश्वकप प्याकेज बोनसस्वरूप निःशुल्क प्राप्त गर्नेछन्।
बोनस प्याकेज सक्रिय गर्न ग्राहकले आफ्नो मोबाइलबाट *14163 डायल गरी प्राप्त निर्देशनअनुसार सेटटप बक्सको MAC Address उपलब्ध गराउनुपर्नेछ। त्यसैगरी, NTTV ग्राहकले आफ्नो टेलिभिजनमार्फत हिमालयन स्पोर्ट्स च्यानल चयन गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि प्राप्त हुने OTP प्रविष्ट गरेलगत्तै मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज सक्रिय हुनेछ। साथै, नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमार्फत पनि प्याकेज सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा विश्वकप हेर्न चाहने ग्राहकलाई सहज सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।