काठमाडाैं - सिन्धु विकास बैंक लिमिटेड र शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता भएकाे छ । सिन्धु विकास बैंक लिमिटेड र Scheer Memorial Adventist Hospital बीच बैंकका कर्मचारी तथा ग्राहक (खातावालाहरू) लाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको हाे ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा खातावालाहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्। यस सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै बैंकका कर्मचारी र ग्राहकहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ। सम्झौतापत्रमा सिन्धु विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसी तथा शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका तर्फबाट प्रमुख प्रशासनिक अधिकृत श्रीमती सूर्य प्रभा शाक्य ले हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने तथा मार्केटिङ विभागका भुवन निरौला को उपस्थिति रहेको थियो। त्यसैगरी अस्पतालका तर्फबाट मानव संसाधन विभाग प्रमुख उमेश यमन थापा तथा प्रशासनिक कर्मचारी निशा गौतम को उपस्थिति रहेको थियो।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई सहज, गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा समेत ग्राहक तथा सेवाग्राहीको हितलाई केन्द्रमा राखेर यस्ता सहकार्यहरूलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सिन्धु विकास बैंक लिमिटेडले ग्राहककेन्द्रित सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ। यस सम्झौताले बैंक र अस्पतालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।