काठमाडाैं - फिफा विश्वकप २०२६ को आधिकारिक गीत “ डाइ डाइ” (Dai Dai) सार्वजनिक भएसँगै विश्वभरका फुटबल समर्थक र संगीतप्रेमीबीच व्यापक चर्चा सुरु भएको छ। कोलम्बियाकी विश्वप्रसिद्ध गायिका शाकिरा र नाइजेरियाली अफ्रोबिट्स स्टार बुर्न ब्वाइले संयुक्त रूपमा गाएको यो गीतलाई फिफाले विश्वकप २०२६ को आधिकारिक गीतका रूपमा घोषणा गरेको हो।
फिफाका अनुसार “डाइ डाइ” फुटबल, संस्कृति र विश्व एकताको उत्सवका रूपमा तयार गरिएको गीत हो। गीतको आम्दानी FIFA Global Citizen Education Fund मार्फत विश्वभरका बालबालिकाको शिक्षा र फुटबल अवसर विस्तारका लागि प्रयोग गरिनेछ।
गीत पहिलो पटक विश्वकप उद्घाटन समारोहमा मेक्सिको सिटीस्थितकाे स्टेडियम( Estadio Azteca) मा प्रस्तुत गरिएको थियो। उद्घाटन समारोहमा शाकिरा र बर्ना बोयले हजारौं दर्शकमाझ प्रत्यक्ष प्रस्तुति दिएका थिए, जसले विश्वभरको ध्यान आकर्षित गरेको थियो। आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले उल्लेख गरेको छ । शकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाका : दिस टाइम फर अफ्रिका’ २६.६४ प्रतिशत मत पाउँदै सूचीको दोस्रो स्थानमा छ ।
सामाजिक सञ्जालमा भने गीतप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले “डाइ डाइ” लाई आधुनिक विश्वकपको उत्कृष्ट गीत भनेका छन् भने कतिपय समर्थकहरूले “वाका वाका” जत्तिको प्रभावशाली नभएको टिप्पणी गरेका छन्। फिफाले जनाएको अनुसार “डाइ डाइ” विश्वकप २०२६ को आधिकारिक सांगीतिक पहिचान हुनेछ र प्रतियोगिताभर विभिन्न कार्यक्रम तथा समारोहहरूमा बजाइनेछ। विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भइरहेको छ। “डाइ डाइ” अर्थात् “जाऔँ, अगाडि बढौँ” भन्ने भाव बोकेको यो गीतले फुटबलमार्फत विश्वलाई एक सूत्रमा बाँध्ने सन्देश दिएको छ।*