काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत आइतबार सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित कार्यसमितिले बुधबार सिफलस्थित संघको कार्यालय पुगेर पदभार ग्रहण गरेको हो । उक्त साधारणसभाबाट डिकबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको थियो ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष खत्रीले व्यवसायीको हक हितको विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै सम्मानित बनाउन राज्यसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ । ‘हाम्रो क्षेत्रमा भएका ऐनगत त्रुटिलाई राज्यसँग समन्वय गरेर सच्याउन आवश्यक पहल गर्छौं । २०७२ सालको सानो त्रुटिले व्यवसायीलाई अहिलेसम्म दुःख दिइरहेको छ,’ उनले भने, ‘अहिले हुन लागेको ऐन संशोधनमा त्रुटि भयो भने फेरि कति वर्ष दुःख पाउने भन्ने हुन्छ । त्यसमा हामी सजग छौं । नीतिगत सुधार भयो भने यो पेसालाई सम्मानित बनाएर पुस्तान्तरण गर्न सकिन्छ ।’
पदभार ग्रहण गर्न आयोजित समारोहमा निर्वाचन गराउन भूमिका खेल्ने निर्वाचन समिति तथा त्यसका लागि समन्वय गरेको प्रबन्ध समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो । नवनिर्वाचित कार्यसमितिले अब दुई वर्ष संघको नेतृत्व सम्हाल्ने छ । विशेष साधारणसभाबाट संघको प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा हिराबहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका थिए । त्यस्तै, कार्यसमिति सदस्यमा रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना, दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत निर्वाचित भएका थिए ।
भुवनसिंह गुरुङ नेतृत्वको निवर्तमान कार्यसमिति आन्तरिक विवादका कारण कार्यकाल पूरा नगरी विघटन भएपछि विशेष साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । निवर्तमान अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुमत पदाधिकारीले राजीनामा दिएपछि कार्यसमिति विघटन हुन पुगेको थियो । संघको विधानमा बहुमत पदाधिकारीले राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंलेसमेत संघलाई निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्न अनुमति दिएको थियो ।

पहिलो बैठकबाट तोकियो जिम्मेवारी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पदभार ग्रहण गरेलगत्तै बसेको बैठकले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको जानकारी दिइएको छ । जसमा प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतलाई अन्तर्राष्ट्रिय समन्वयका साथै संघलाई प्रविधिमैत्री बनाउने जिम्मा दिइएको छ । बस्नेतले संघलाई पूर्णप्रविधिमैत्री बनाउन आइटी इञ्जिनियरहरूसँग समन्वय गरी आवश्यक काम गर्नुपर्ने छ ।
द्वितीय उपाध्यक्ष अनिल बोगटीलाई प्रशासनिक निकायदेखि आन्तरिक र आकस्मिक समन्वयको जिम्मा दिइएको छ । तृतीय उपाध्यक्ष लक्ष्मण पौडेललाई वैदेशिक रोजगार विभागमा आउने मेलमिलाप, गुनासोलगायतमा समन्वयको जिम्मेवारी तोकिएको छ । संघको प्रवक्ताको जिम्मा भने महासचिव हरि डाँगीले पाएका छन् ।
त्यसैगरी संघका सचिव केदारनाथ अधिकारीलाई विदेशी कूटनीतिक नियोगको जिम्मा दिइएको छ । कोषाध्यक्ष धनमाया सिञ्जालीलाई आर्थिक संयोजक तथा सिएसआर संयोजक तोकिएको छ । सोही बैठकबाट नवनिर्वाचित सदस्यहरुलाई देशगत समस्या समाधानका लागि विभिन्न भूमिका दिइएको छ ।
जसअन्तर्गत रमा खड्का युएई संयोजक, तारामणि राई विभाग सहसंयोजक, ध्रुव जिसी युरोप संयोजक, रविन्द्र राई विभाग सहसंयोजक, विवश ढुंगाना कतार संयोजक, दीक्षा थपलिया साउदी अरब संयोजक, बाबुराम न्यौपाने युएई सहसंयोजक, भावना गजुरेल कुवेत संयोजक, गीता राउत विभाग सहसंयोजक र तारा तामाङ युरोप सहसंयोजक रहेका छन् ।
संघले कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौला र वरिष्ठ अधिवक्ता देवराज कटुवाललाई नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।