काठमाडौं - श्रम अभावको समस्या समाधान गर्न जापानले सन् २०२८ सम्म करिब १२ लाख ३१ हजार विदेशी कामदार स्वीकार गर्ने योजना सार्वजनिक गरेको छ। जापानी सरकारले ‘स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) टाइप–१’ कार्यक्रम र नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट (ईएसडी)’ आवासीय श्रेणीमार्फत विदेशी श्रमिक भित्र्याउने लक्ष्य निर्धारण गरेको हो।
सरकारका अनुसार हाल सञ्चालनमा रहेको ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’लाई सन् २०२७ देखि हटाएर त्यसको स्थानमा ईएसडी कार्यक्रम लागू गरिनेछ। नयाँ प्रणालीअन्तर्गत सन् २०२७ मार्चदेखि विदेशी कामदार भर्ना सुरु हुने र आर्थिक वर्ष २०२८ सम्म दुई वर्षे कोटाअन्तर्गत सञ्चालन गरिनेछ। योजनाअनुसार एसएसडब्ल्यू टाइप–१ अन्तर्गत ८ लाख ५ हजार ७ सय विदेशी कामदारलाई अनुमति दिइनेछ, जुन हालको ८ लाख २० हजारको सीमाभन्दा केही कम हो।
त्यस्तै, नयाँ ईएसडी श्रेणीमार्फत थप ४ लाख २६ हजार २ सय कामदारलाई अवसर प्रदान गरिनेछ। यससँगै दुवै कार्यक्रममार्फत कुल १२ लाख ३१ हजारभन्दा बढी विदेशी श्रमिक जापान भित्र्याउने लक्ष्य राखिएको छ।जापानले एसएसडब्ल्यू कार्यक्रमलाई हालका क्षेत्रहरूबाट विस्तार गर्दै १९ वटा उद्योगमा लागू गर्ने तयारी गरेको छ। नयाँ थपिएका क्षेत्रहरूमा लजिस्टिक्स गोदाम, लिनेन सप्लाई तथा स्रोत पुनःचक्रण (रिसोर्स रिसाइक्लिङ) लगायतका उद्योग समावेश छन्।
जुन २०२६ सम्मको सरकारी तथ्यांकअनुसार जापानमा एसएसडब्ल्यू टाइप–१ अन्तर्गत ३ लाख ३३ हजार १२३ विदेशी कामदार तथा टेक्निकल इन्टर्न कार्यक्रमअन्तर्गत ४ लाख ४९ हजार ४३२ प्रशिक्षार्थी कार्यरत छन्। जापानको यो नयाँ नीति श्रमशक्ति अभाव झेलिरहेका विभिन्न उद्योगलाई राहत दिने अपेक्षा गरिएको छ। साथै, वैदेशिक रोजगारीका अवसर खोजिरहेका नेपालीसहित अन्य देशका नागरिकका लागि पनि जापान आकर्षक गन्तव्य बन्न सक्ने देखिएको छ।