एएफपी- बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबीच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन् ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपेली संसद्मा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी भएर बिहीबार संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । इयुको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उनी पहिलो विदेशी सरकार प्रमुख छन् ।
उनको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने इयु-क्यानाडा शिखर सम्मेलनअघि दुई पक्षबीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो । इयुका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्त्वपूर्ण खनिजजस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए ।
सन् २०१६ देखि लागू स्वतन्त्र व्यापार सम्झौता ‘सिइटिए’ ले सामान तथा सेवाको व्यापार ८० प्रतिशतभन्दा बढी बढाउन योगदान गरेको बताइएको छ । यसै वर्ष क्यानाडा इयुको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर–इयु देश बनेको छ ।
क्यानाडाले महत्त्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्र्याउन चाहेको छ । यसले विद्युतीय ब्याट्रीलगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जर्मनीमा क्यानाडाली एलएनजी आपूर्ति र कृत्रिम बौद्धिकता कम्पनी कोहरको लगानीलाई पनि सहकार्यका उदाहरणका रूपमा लिइएको छ ।यद्यपि, सिइटिए कार्यान्वयनमा चुनौती कायमै छन् । फ्रान्स, इटाली र पोल्यान्डसहित १० इयु सदस्य राष्ट्रले सम्झौतालाई पूर्ण रूपमा अनुमोदन गरेका छैनन् । इयुको रिन्यु समूहले पूर्ण अनुमोदनका लागि पहल गर्न आग्रह गरेको छ ।
इयु र क्यानाडाबीच विद्यार्थी आदानप्रदान, श्रम गतिशीलता तथा युक्रेनका लागि इयुको ९० अर्ब युरो ऋण योजनामा क्यानाडाको योगदानलगायत विषयमा पनि छलफल भइरहेको छ । राजदूत विल्किन्सनले सम्बन्धलाई स्वतन्त्र व्यापारभन्दा पर विस्तार गरी अझ गहिरो साझेदारीमा लैजाने प्रयास भइरहेको बताए ।